सप्तरी घटनाका मृतककी पत्नी घरेलु हिंसामा

  ०७४ वैशाख १६ गते

सुरक्षाकर्मीको गोलीले मृत्यु भएका राजविराज नपा-९ (साविक मलेठ गाविस-२) का सन्जन मेहताकी पत्नी २१ वर्षीया सविताकुमारी मेहताले घरेलु हिंसामा परेको उजुरी दिएपछि वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबिच छलफल भएको छ ।

क्षतिपूर्तिस्वरूप सरकारले दिने १० लाख रुपियाँ मृतककी पत्नीले लिने कि मृतकका बुवाआमाले लिने भन्ने विवादले घरेलु हिंसा, दुर्व्यवहार र कुटपिटको घटना भएको भन्दै पीडितका दाजु सुनसरीको बरझु गाउँपालिका-५ (साविक अमहा वेल्हा गाविस-९) का ३० वर्षीय गोविन्द मेहताले वैशाख १२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

पतिको मृत्युले पीडित बहिनीलाई घरमा नजरबन्द गरी भोकै राखेर यातना दिएको गोविन्दले आरोप लगाए । उनले भने-'सवितालाई घरपरिवारका सदस्यहरूले यातना दिँदै क्षतिपूर्तिवापत पाइने १० लाख रुपियाँ सवितालाई नदिने भन्दै धम्क्याउँदै आएका छन् ।'

सविताको अवस्था बुझ्न वैशाख १२ गते आएका उनका दाजुहरू भोला मेहता र गोविन्द मेहतालाई सविताका जेठाजु रन्जन मेहताले दुर्व्यवहार गर्दै हातपात गरेपछि गोविन्दले जिल्ला प्रशासन कार्यालयमा बहिनीको शान्ति सुरक्षाका लागि उजुरी दिएका थिए ।

उजुरीमा पतिको मृत्यु पश्चात आरोपितहरूले सवितालाई घरमै नजरबन्दमा राखेर कसैसँग बोलचाल गर्न, माइत जान नदिई गालीगलौज, कुटपिट गरी यातना दिएको उल्लेख छ ।   जिल्ला प्रहरी कार्यालय आएकी सविताले सासू शान्तिदेवी, ससुरा लक्ष्मण, जेठाजु रन्जनले सबै गरगहना, कपडा खोसेको र यातना दिने गरेको आरोप लगाइन् ।

सविताकी सासू शान्तिदेवीले सविता तथा उनका दाजुहरू भोला र गोविन्दविरूद्ध नगद र गरगहना लिएर भागेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा वैशाख १३ गते उजुरी दिएकी थिइन् । दुवै पक्षबिच वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा सहभागी मधेसी मोर्चाका नेताहरूको आग्रहमा आगामी वैशाख १६ गते पुनः छलफल गरी विवाद टुँग्याउने सहमति भएको छ । आरोप-प्रत्यारोपहरूलाई संवेदनशीलताका साथ हेरिरहेको भन्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मीराज अधिकारीले गोली लागेर परिवारका सदस्यको मृत्यु भएकाले सहानुभूतिका साथ दुवै पक्षलाई राखेर मिलाउन प्रयत्न भइरहेको बताए ।

नेकपा (एमाले) को मेची महाकाली अभियानका क्रममा फागुन २३ गते सुरक्षाकर्मीसँगको झडपमा गोली लागी २६ वर्षीय सन्जनको मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा नौ महिनाअघि मात्र सविताको सञ्जनसँग विवाह भएको थियो ।


मनोहरकुमार पोखरेल