सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च

  ०७७ फागुन २१ गते

जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् ।

३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी बाटो खर्चमा १५ हजार रुपियाँ बढी खर्चनु परेको सेवाग्राहीको गुनासो छ ।

चीनको तिव्बतबाट ल्याएको चौरीका पुच्छर(चम्मर) सिमामा राखेर राजश्व भन्सार तिर्न एक साता पैदल यात्रा गरी खाँदबारी आउनु परेको भोटखोला गाउँपालिकाका–२ का ५४ वर्षीया सोप्पा भोटेले बताउनु भयो । उहाँले भन्नुभयो “भन्सार कार्यालय सदरमुकाममा भएकाले ३ हजार २ सय ५४ रुपियाँ आयत भन्सार शुल्क तिर्न आउँदा १५ हजार रुपियाँ खर्च गर्नु परेको छ ।”

सोप्पा भोटेका अनुसार भन्सार कार्यालय सीमा क्षेत्रमा नभएर सदरमुकाममा हुँदा निम्न आय भएका व्यापारीलाई व्यापार गर्न समस्या हुने गरेको छ । तिब्बतबाट आयात गरेका चौरी पुच्छर झापा, मोरङ र सुनसरी पुर्‍याएर बिक्री वितरण गर्दै आएको सोप्पा भोटेले बताउनु भयो ।

सीमा क्षेत्रमा बस्नु पर्ने भन्सार कार्यालय सदरमुकाममा बसेपछि  सेवा लिन झन्झटिलो भएको सेवाग्राहीको गुनसो छ ।

किमाथाङ्का नाकाबाट पशु चौपाया, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, बिजुलीका सामान, जुडिबुटीलगायत आयातनिर्यात हुने गरेको छ ।

किमाथाङ्का नाकाबाट ८० प्रतिशत भन्दाबढी चौरीको पुच्छर आयात हुने गरेको सीमा भन्सार कार्यालयले जनाएको छ ।

भोटखोला गाउँपालिकाको  किमाथाङ्का विटक र दुर्गम भएकाले सदरमुकाम खाँदबारी भन्दा चीनसँग बढी भर पर्नुपरेको स्थानीय व्यापारीको भनाइ  छ ।

भन्सार कार्यालयले आवतजावतका लागि एक साताको प्रज्ञापनपत्र दिने गरेको छ । उक्त पत्रमा उल्लेख भएको विवरण जिल्ला प्रहरीले किमाथाङ्का सीमा प्रहरी कार्यालयलाई बोधार्थ पठाएपछि सीमा प्रहरीले वस्तुको आयत तथा निर्यात गर्न दिने गरेको छ ।

राजश्व जिल्लामा बुझाएपनि प्रज्ञापनपत्र सीमामा नै दिने व्यवस्था मिलाएर आयात तथा निर्यात हुने सामग्रीको अनुगमन गरिनु पर्ने स्थानीय र व्यापारीको माग छ ।

भोटखोला गाउँपालिकाका किमाथाङ्का, चेपुवा, हटिया, च्याताङ, रिदाक, थुदामलगायतका स्थानीयले भन्सार र्तिनका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ ।


भविन कार्की