सदनमा प्रस्तुत सञ्चार विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

  ०७६ चैत ७ गते

प्रदेश २ को सदनमा सरकारले प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि ६ जना प्रदेशसभा सदस्यले चैत ६ गते संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ ।

प्रदेश सभा सदस्यहरु राजपाका सुरिता साह, विन्देश्वर प्रसाद यादव, डा.रिना यादव, समाजवादी पार्टीका चमेलीदेवी दास, प्रमुख प्रतिपक्षी नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले संशोधन प्रस्ताव दर्ता गराउनु भएको हो ।

सदनमा प्रस्तुत गरिएको विद्येयकमा प्रेस स्वतन्त्रता र निष्पक्षरुपमा पत्रकारिता गर्नका लागि पत्रकारलाई बन्देज लगाइएको हुनाले पत्रकारमैत्री विधेयक निर्माणका लागि संशोधन प्रस्ताव दर्ता गराएको प्रदेश सभा सदस्य विदेश्वरप्रसाद यादवले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २, नेपाल पत्रकार महासंघ धनुषा शाखाले सदनमा प्रस्तुत विधेयकका अधिकाँश परिच्छेद तथा दफा सञ्चारमाध्यम तथा पत्रकारलाई खोजमुलक, भ्रष्टाचारमुलक, विधिको शासन तथा पारदर्शिताका लागि सरकारको काम कारवाही तथा आर्थिक कारोबार सम्बन्धी समाचार लेख्न नै बन्देज गर्ने खालको रहेको भन्दै आपत्ति जनाइसकेको पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झाले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह