सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पीडितको प्रश्न-'आयोग कता बेपत्ता ?'

  ०७३ चैत २७ गते

द्वन्द्वकालीन घटनाहरूलाई निरूपण गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोगसमक्ष द्वन्द्वपीडितहरूले आयोग नै बेपत्ता भएको गुनासो गरेका छन् ।

ओयोगद्वारा चैत २६ गते फिदिममा आयोजित न्यायका लागि द्वन्द्वपीडितहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पीडितहरूले सो गुनासो गरेका हुन् । उजुरी लिएको लामो समय बित्दासमेत आयोगले कुनै काम नगरेको आरोप लगाउँदै याङवरक गाउँपालिका-४ का नारायण कोइरालले प्रश्न गरे-'यति लामो समयसम्म आयोग कता बेपत्ता भएको हो ?'

उनले थपे-'आयोगको यस्तो कार्यसम्पादनले पीडितहरूलाई थप पीडा मात्र भएको छ । बिर्सन लागेका घटनाहरू दोहोरिएका छन् ।' द्वन्द्वकालमा पति गुमाएकी याङवरक गाउँपालिका-१ की होमादेवी अधिकारीले लामो समयसम्म सत्य तथ्य बाहिर नआउँदा न्याय पाइने आशा मरेको बताइन् । फिदिम नपा-१४ की टिकामाया राईले राज्य द्वन्द्वपीडितहरूप्रति सम्वेदनशील नभएको भन्दै आयोगप्रति असन्तुष्टि पोखिन् ।

आयोगकी सदस्य माधवी भट्टले आयोग आन्तरिक विवादमा फसेको हुनाले अपेक्षाकृत कार्यसम्पादन हुन नसकेको बिताइन् । 'काम गर्ने क्रममा आयोगका पदाधिकारीबिच विवाद भयो'-उनले भनिन्-'यसले समय लम्बिएको हो । अब हामी चाँडै काम थाल्छौँ ।' आयोगले प्रदेश स्तरमा कार्यालय स्थापना गरी काम थाल्ने उनले जानकारी दिइन् ।

पछिल्लो पटक थपिएको आयोगको समयावधि अब १० महिना मात्र बाँकी छ । सत्य निरूपण तथा मेलमिलाप आयोग समक्ष पाँचथर जिल्लाबाट ३ सय ९६ वटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिका सचिव टङ्क पौडेलले बताए । प्रदेश नं. १ मा ६ हजार २ सय ९१ र देशभरी करिब ५८ हजार उजुरी आयोगसमक्ष दर्ता भएका छन् ।


मङ्गल बेघा