सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस

  ०७६ माघ ५ गते

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित सदस्य नियुक्तिका लागि नाम सिफारिस भएको छ ।

नाम सिफारिस गर्ने जिम्मेवारी पाएका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिको माघ ४ गते बसेको बैठकले गरी दुबै आयोगमा पूर्णता दिन नाम सिफारिस गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव कमलराज गौतमले विज्ञप्ति निकालेर दुबै आयोगका लागि अध्यक्ष सहित पाँच /पाँच जना सदस्यका लागि नाम सिफारिस गरिएको उल्लेख गरिएको छ । उनले पदाधिकारीका नाम सिफारिससहित प्रतिवेदन माघ ४ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालमार्फत् सरकारलाई बुझाइएको जानकारी दिए ।

मन्त्री ढकालले प्रतिवेदन बुझेपछि प्राप्त जिम्मेवारी पूर्वप्रधानन्यायाधीश मिश्र नेतृत्वको समितिले कुशलतापूर्वक पूरा गरेकोमा धन्यवाद दिएका थिए । स्रोतका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्षका लागि कानुन विषयका सहप्राध्यापक गणेशदत्त भट्ट र वेपत्ता नागरिक छानबिन आयोगमा युवराज सुवेदीको नाम सिफारिस भएको हो ।

यस्तै,सत्य निरुपणमा प्रचण्डमान श्रेष्ठ, गोविन्द गौतम, विष्णु पोखरेल र मन दाहालको नाम सिफारिस छ । वेपत्ता नागरिक छानबिन आयोगको सदस्यमा नेकपाबाट विष्णु भण्डारी सुनिल सिंह, सरिता थापा र गंगाधर अधिकारीको नाम सिफारिस भएको छ ।

नाम सिफारिसका लागि गत वर्ष चैतमा मन्त्रिपरिषदले मिश्र नेतृत्व समितिलाई जिम्मेवारी दिएको थियो । नाम सिफारिस गर्नुअघि माघ ३ गते नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । तर द्वन्द्व पीडितहरूले भने दलहरूबीचको भागबण्डाका आधारमा दुबै आयोगका पदाधिकारी सिफारिस गर्न नहुने माग राख्दै आएका छन् ।


विमला पाैडेल