सत्तारूढ नेकपालाई गाउँ पस्न निषेध

  ०७६ जेठ २६ गते

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा प्रवेश नगर्न स्थानीयले चेतावनी दिएका छन् ।

हुम्ला जिल्ला कमिटीको सिफारिसमा हेप्का गाउँलाई विभेद गरेको भन्दै स्थानीयले एक विज्ञप्ति निकालेर सो पार्टीलाई चेतावनी दिएका हुन् ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रले आफ्ना आसेपासे नातागोतालाई मात्रै सिफारिस गरेको आरोप लगाउँदै विज्ञप्ति निकालेका हुन् ।

गाउँमा कमिटी र सङ्गठन गठन गर्न नदिने र अब आउने चुनावमा नेकपालाई हेप्का गाउँ प्रवेश गर्न निषेध गर्ने विज्ञप्तिमा जनाइएको स्थानीयबासी धनबहादुर लामाले बताए ।

जिल्लाको अगुवा नेताहरूलाई कुनै पनि राजनीतिक कार्यक्रम र पार्टीको कार्यक्रम लिएर गाउँ जान रोक लगाएपछि आक्रोशमा आएको लामाले बताए । राजनीतिक रूपले सक्रिय हुँदाहुँदै पनि पूर्वाग्रह गरेको हेप्काबासीले बताएका छन् ।

पुर्व एमाले र पुर्व माओवादी केन्द्र एकीकरण गरी नेकपा निर्माण भएको महाना परिस्थितिमा जिल्ला कमिटी गठन गर्ने क्रममा सिमकोट गाउँपालिका वडा दुई अन्तर्गत हिजोको माओवादी केन्द्र र एमालेको बहुमत इलाकाबाट एक जना पनि पार्टीको नजरमा नपरी खाली भोट बैङ्कका रूपमा हेरेको भन्दै साविक ठेहे वडा १, २, ४, र ५ का माओवादी केन्द्रका नेता कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।

पुर्व एमाले र माओवादी केन्द्रले आफूहरूलाई खाली भोट बैङ्कका रूपमा लिएको आरोप नेकपाका रामबहादुर बोहराको थियो ।

यो समस्या नाम्खा गाउँपालिकामा मात्र नभएर सिमकोट गाउँपालिका–२ ठेहेमा पनि पुर्व नेकपा माओवादी केन्द्रको बहुमतमा तीन जनाले देश र जनताको लागि ज्यान गुमाएता पनि पार्टीले मुल्याङ्कन नगरेको डन्से रावलको गुनासो छ ।

उनले भने–‘पार्टीको निम्ति आफ्नै दुई भाइले ज्यान गुमाएता पनि अहिले आएर पार्टीले मुल्याङ्कन गरेन, खाली सहिदका सपना पुरा गर्छौँ भन्यो । भाषणमा उल्लेख कुरा व्यवहारमा देखाएनन् ।’

पार्टीले जुन वडामा बहुमत र बढी सहिद भएका छन् तीनलाई भोटर मात्र सम्झेको लक्ष्मण भण्डारीको भनाई रहेको छ ।

पार्टीले यसको सकरात्मक परिणाम नल्याए थप विरोधका कार्यक्रम गर्ने सोही गाउँपालिका–२ का विरमान सुनारले बताए ।

साविकको वडा १, ३, ४ र ५ का ४५ घरधुरीले पार्टीको विरोध गर्दै हस्ताक्षर सहित आज एक विज्ञप्ति निकालेका छन् ।

नेकपाका कार्यकर्ता रहेका ४५ घरधुरीले असन्तुष्टि जनाउँदै विज्ञप्तिमा भनिएको छ–‘नेतृत्व लिन चाकडी, मिथ्यावचन, जालसाजी झुटको खेती गर्नेले पाउने देखिन्छ । इमान, नैतिकता, लगनशिलता र जनमतको कदर नहुने सावित देखियो अबका सबै टिके प्रथामा छनौट गर्ने मुल्याङ्कन कर्तालाई आउँदो दिनमा भोट माग्न हामी भोटरलाई घरदैलोको आगन प्रस्थान नगर्दा राम्रो हुनेछ । नत्र भने बेलैमा सचेत भएर यसको परिणामलाई बेवास्ता गरे झन जटिल रूप लिने पक्का छ ।’

यसका साथै आउने जुनसुकै नेकपाको जिल्लादेखि गाउँसम्मका हरेक कार्यक्रम बहिष्कार गर्ने घोषणा गरीएको जेठ २५ गतेको विज्ञप्तिमा भनिएको छ ।


नन्द सिंह