सडक सञ्चालन नहुँदा उपल्लो डोल्पाबासीले चामल पाउन सकेनन्

  ०७५ भदौ ७ गते

सडक सञ्चालन नहुँदा उपल्लो डोल्पाबासीले गत आर्थिक वर्षदेखिकै अनुदानको खाद्यान्न पाएका छैनन् । हिमाली जिल्ला डोल्पाको माथिल्लो डोल्पामा सरकारले दिने अनुदानको चामल सडक सञ्चालन हुन नसक्दा हालसम्म नपाएका हुन् ।

खाद्य संस्थानले अघिल्लो आर्थिक वर्षमाथिल्लो डोल्पाको लागि ४ हजार ५ सय क्वीन्टल चामलको कोटा विनियोजन गरेको भएपनि उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, सेफोक्सुण्डो र छार्का ताङ्सोङ गाउँपालिकामा अझै खाद्यान्न नपुगेको हो ।

अलिस हिमाली निर्माण सेवाले माथिल्लो डोल्पाका लागि खाद्यान्न ढुवानीको जिम्मा लिएको र विभिन्न समस्या देखाउँदै चामल पुर्‍याउन ढिलाई गरिरहेको डोल्पो बुद्ध गाउँपालिकाका पेम्बाक्यालजन गुरुङले बताए ।

रसुवाको केरुङ नाका हुँदै माथिल्लो डोल्पाको मोरिम्ला र क्याटो नाकामा पुर्‍याएर सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको चामल वितरण गर्ने परम्परा जस्तै बन्दै आएको छ ।

माथिल्लो डोल्पाको लागि ४ हजार ५ सय क्वीन्टल चामल विनियोजन गरिएपनि छार्काताङसोग गाउँपालिकाले खाद्यान्न वितरण प्रणालीका सम्बन्धमा र ढुवानी प्रकृयामा विरोध जनाउँदै नबुझ्ने बताएपछि ३ हजार क्वीन्टल चामल आफूहरूले ठेकदार बिजय रोक्कालाई बुझाएको खाद्य संस्थान डोल्पा शाखा प्रमुख हरिप्रसाद जोशीले बताए ।

अबको २-४ दिन भित्र यो वर्षको लागि तिब्बतले केरुङ नाका खोल्ने भएकाले एक हप्ता भित्र उपल्लोबासीले अनुदानको चामल पाउने ठेकेदार बिजय रोक्काले बताए ।

उपल्लो डोल्पाको लागि खाद्यान्न र नुन विगत वर्षदेखि तातोपानी नाका हुँदै जाने गरेको भएपनि ०७२ को विनाशकारी भूकम्पले तातोपानी नाका बन्द भएपछि रसुवाको केरुङ नाका हुँदै जाने गरेको छ ।

तिब्बतको मोरिम्ला नाकामा आउने अनुदानको चामल र नुन छार्का ताङ्सोङ गाउँपालिकाका जनताको लागि टाढा हुने भएपछि दुई वर्षदेखि खाद्यान्नका रूपमा चामलको भात खान छाडेको स्थानीयले बताएका छन् ।

छार्का ताङ्सोङ गाउँपालिकाका साविकका छार्का र मुकोट गाविसका जनतालाई मोरिम्ला नाका जान एक हप्ताको समय लाग्ने र सबै जान नसक्ने भएपछि दुई वर्षदेखि सम्बन्धित क्षेत्रका उपभोक्ताले खाद्यान्न नपाएको स्थानीयबासीले आरोप लगाए ।

छार्काका स्थानीय छिरिगलुण्डुप रोकायले सरकारले जनतालाई खाद्यान्न नै दिने हो भने नेपालकै मार्ग अपनाएर मुस्ताङ हुँदै छार्का ताङ्सोङसम्म पुर्‍याउनु पर्ने बताए । नेपालकै मार्ग प्रयोग गरेर मुस्ताङगबाट ल्याएमा सहजरुपले खाद्यान्न पाउने रोकायले भने ।


विष्णुप्रसाद देवकोटा