सडक अवरूद्ध हुँदा बिरामीलाई समस्या

  ०७७ असोज १३ गते

गत साउन ५ गते आएको भीषण बाढी पहिरोपछि अवरुद्ध भएको अन्नपुर्ण गाउँपालिका ३ दाना स्थित बेनीजोमसम अन्तरगतकाे सडकखण्ड अवरुद्ध हुँदा मुस्ताङ जिल्लाका बिरामीलाई समस्या भएकाे छ ।

भदौ दोश्रो हप्तादेखि सञ्चालनमा आएको सडक पुनः भदौ ३० गतेदेखि अवरूद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङसँग सवारी सम्पर्क विच्छेद भएको छ ।

सिधा सम्पर्क बिच्छेदहुँदा हवाइ यातायातको मात्र विकल्प रहेको मुस्ताङमा हवाई उडान नहुँदा बिरामीहरूलाई निकै सास्ती हुने गरेको छ ।

मुस्ताङबाट गण्डकी प्रदेश सदस्य चन्द्रमोहन गौचन भन्नुहुन्छ –‘मुस्ताङका बिरामीहरूलाई मुस्ताङको घोप्टेभिर देखि झण्डै १० किलोमिटरको दुरी स्टेचरकै भरमा छिचोल्नुपर्ने अवस्था आएको छ ।एक्लै पैदल समेत हिँड्न नमिल्ने गोरेटोमा बिरामी सहित वारपार गर्नु निकै सास्ती भएको छ ।

कालिगण्डकी करीडोर अन्तरगतको उक्त सडक मर्मतको कार्य भइरहेको भएपनि सञ्चालनमा आउन अझै एक हप्ता लाग्ने शर्मा गजुरमुकी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले बताउनुभयो ।

म्यानेजेर न्यौपानेका अनुसार म्याग्दीको अन्नपुर्ण गाउँपालिका३ रूप्सेमा रूप्से खोलाले बेस सहित नै पुल बगाएको छ । त्यस्तै सोही वडाको काभ्रेमा ३० मिटर सडक पुरै पहिरोले बगेको छ भने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घोप्टे भिरमा चट्टान सहितको पहाड नै झरेर सडक अवरूद्ध भएको छ ।

न्यौपाने भन्नुहुन्छ –‘घोप्टेभिरमा चट्टानवाला पहाडलाई ब्रेकरले नभएपछि विष्फोट गर्नुपर्ने भएकोले विष्फोट गरेर सडक खुलाउने प्रयास हुँदैछ ।

त्यस्तै मुस्ताङको थासाङ गाउँपालिका४ कैकुमा ६० मिटर सडक र थासाङकै वडा नम्बर ३ मिसिमा ३० मिटर सडक बेस सहितै बगेकोले सवारी सञ्चालनमा समस्या भएको हो ।

गण्डकी प्रदेश सदस्य गौचनका अनुसार लामो समयसम्म अवरूद्ध भएको सडक सञ्चालनमा आएको सडक पुनः अवरूद्ध हुँदा मुस्ताङका स्याऊ कृषकहरू चिन्तित बनेका छन् ।

केही समय सडक खुल्दा आलु लगायतका तरकारी बालि बिक्री गरेर आम्दानी गरेका कृषकहरू अहिले स्याऊ बेच्न भने पाएका छैनन् ।

मुस्ताङको थासाङ गाउँपालिका नाउरीकोट घर भइ दानामा पर्यटन व्यवसाय गर्दै आउनुभएका इन्द्रसिंह शेरचन भन्नुहुन्छ –‘दैनिक जसो पैदलयात्री र बिरामीहरूलाई स्टेचर तथा मानिसले पिठ्युँमा नै बोकेर गन्तव्य तर्फ लैजाने गरेका छन् ।

मुस्ताङको उत्पादन स्याऊ बिक्री गर्ने सिजनमा सडक अवरूद्ध हुँदा स्याऊ कृषकलाई निकै समस्या भएको छ । मुस्ताङबाट गतवर्ष ५ हजार ५ सय २८ मेट्रिक टन स्याऊ निर्यात भएकोमा यसवर्ष उत्पादन केही कम भएपनि बजार जानुपर्ने समयमा पछिल्लो नौ दिन देखि सडक अवरूद्ध हुँदा कृषकलाई चिन्ताले सताएको छ ।

मुस्ताङमा गतवर्ष १ हजार २ सय हेक्टर जमिनमा स्याऊ लगाइएकोमा घरपझोङ गाउँपालिकामा २ हजार ६ सय ९४, बाह्रगुङ मुक्तिक्षेत्रमा १ हजार ३ सय ७०, थासाङमा १ हजार ३ सय ६०, लोघेकर दामोदरकुण्डमा १०० र लोमान्थाङमा ३ मेट्रिक टन स्याऊ उत्पादन भएको थियो ।

घरझोङ गाउँपालिका मार्फाका स्याऊ उत्पादक कृषक दिपक लालचनले यसवर्ष सडक नहुँदा स्याऊ छिटो बेच्न नपाए पनि गुणस्तरीय स्याऊ अहिले बजार जाने हुँदा आफूहरू धेरै खुशीको अवस्था रहेपनि टिपेर लैजानका लागि प्याक गरेर राखेको स्याऊ सडक नहुँदा रोकिएको छ । लालचन भन्नुहुन्छ– ‘टिपेर बजार लैजान ठिक्क पारिएको स्याऊ सडकको कारण रोकिदा कृषकको हातमा पर्न लागेको पैसा पनि रोकियो ।

photo20200929Myagdi1

Photo20200929Myagdi2


अमृत प्रसाद पौडेल