सञ्चार माध्यमसम्मको अधिकारमा रोक लगाएको भन्दै गङ्गामायाको आपत्ती

  ०७६ असोज २२ गते

छोराका हत्याराहरूमाथि कानुनी कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले सञ्चारमाध्यामसम्म पुग्न नदिएको भन्दै सरकारको व्यवहारप्रति आपत्ती जनाएकी छिन् ।

असोज २० गते सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवी लामिछानेलाई भेटन जाने क्रममा गृहको आदेशले जान नदिन भनेको भन्दै प्रहरीले रोकेको उनको आरोप छ ।

भदौ २१ गते वीर अस्पतालमा पत्रकार सम्मेलन आयोजना गरी अधिकारीले न्यायको माग गर्दै आफ्ना कुरा जनता समक्ष राख्न खोज्दा रोक लगाउनु आफ्नो अधिकारको उल्लङ्घन भएको बताइन् ।

उनले ०७० असोज ६ गतेदेखि वीर अस्पतालको ७ नम्बर क्याविनमा बस्दै आएको बताउँदै सरकारले आफूलाई ‘नजरबन्द’मा राखेको आरोप लगाइन् ।

वर्तमान सरकारले न्याय दिनेमा आफूलाई विश्वास नभएको भन्दै उनले न्यायका लागि अन्तराष्ट्रिय स्तरमा जाने योजना सुनाइन् ।

गङ्गामायाका छोरा कृष्णप्रसाद अधिकारीको ०६१ जेठ २४ गते चितवनमा तत्कालीन माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको भन्दै आरोपितलाई पहिचान गरी कारवाहीको मागसहित उनी सङ्घर्षरत छिन् ।

सशस्त्र द्वन्द्वको समयमा आफ्ना १७ वर्षीय छोराको हत्या गरेको आरोपमा आन्दोलन गर्दै आएका बाबु नन्दप्रसाद अधिकारीको अनशनरत अवस्थामामै २०७१ असोज ६ गते मृत्यु भएको थियो ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाका आरोपितहरू १३ जनामध्ये १२ जनाले सफाइ पाएका छन् ।

photo20190908kathmandu2

यसैबिच जिल्ला अदालत चितवनमा ०७५ भदौ २४ गते आइतबार भएको फैसलामा एक जना प्रतिवादीको हकमा मुद्दा मुल्तवीमा राखिएको र अन्य १२ जना प्रतिवादीले हत्या अभियोगबाट सफाइ पाएको भनी फैसला भएको थियो ।

यस अभियोगमा जन्मकैद दावी गरिए पनि वस्तुनिष्ठ आधार नभएको भन्दै अदालतले १२ जनालाई सफाइ दिएको हो ।

न्यायाधीश कुलप्रसाद शर्माको इजलासले उक्त फैसला गरेको हो । यस घटनाका आरोपितहरू गोरखा जिल्ला तत्कालीन फुजेल–७ निवासी सिता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रूद्र आचार्य, कालिप्रसाद अधिकारी, भिमसेन भन्ने भिष्मराज पौडेल, रामप्रसाद अधिकारि, जानुका पौडेल र सुभद्रा तिवारी रहेका छन् ।

प्रतिवादीमध्ये रूद्र आचार्यको हकमा भने मुद्दा तत्कालका लागि मुल्तवीमा रहने भएको छ । आचार्य अदालतमा हाजिर भएपछि कानुन अनुसार निर्णय गरिने उल्लेख छ । आचार्यमाथि यस घटनामा गोली हानेको आरोप छ ।

कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या ०६१ जेठ २४ गते भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए ।

त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी उजुरी दिएका थिए । अधिकारीको ०६१ जेठ २४ गते अपहरणपछि हत्या भएको थियो ।

०७० चैत ३० गते यस मुद्दा चितवन अदालतमा दर्ता भएको थियो । २२ औँ पटकको पेशीमा यस मुद्दाको जिल्ला अदालतबाट किनारा लागेको हो । बासुदेव पौडेल, कविप्रसाद न्यौपाने, टेकनारायण कुँवर र कुलप्रशाद शर्माले यस मुद्दा हेर्दै आएका थिए ।

फुजेल हत्या प्रकरणः हत्याको आधार नभएको भन्दै १२ जना आरोपितलाई सफाइ

आफ्नै आदेश कार्यान्वयन नभएपछि अदालतको अर्को आदेश

फुजेल घटनाः नुरप्रसाद बयान दिन आएनन्

photo20190908kathmandu1


विमला पौडेल