सजाय भन्दा जीर्ण भवनको चिन्तामा डोल्पा कारागारका कैदीबन्दी

  ०७६ माघ २० गते

वर्षौदेखिको पुरानो जीर्ण र चर्केको भवनमा सजाय भुक्तान गर्नु परेको डोल्पा कारागारका कैदी बन्दीले गुनासो गरेका छन् ।

हामीलाई अपराध गरेर जेल जीवन विताउनु परेकोमा चिन्ता छैन, तर चिरा चिरा परेको भवनले कतै थिचिने त होइनौ भन्ने डर छ कर्तब्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका गोविन्द बुढाले गुनासो गर्नु भयो ।
२०३२ सालमा निर्माण गरिएको जीर्ण भवनकै कारण कहिले काही आफ्नो सजाय भुक्तान गरिसकेपछिको बाँकी जीवन परिवार आफन्तसँग बिताउने र नयाँ अध्यायको सुरुवात गर्ने सपना अधुरै होला जस्तो लाग्न थालेको उहाँको भनाई छ ।

साघुरो संरचना र डरलाग्दो भवनबाट मुक्त गराएर नयाँ भवनमा सार्न कैदी बन्दीहरूले बारम्बार सम्बन्धित निकायलाई मागगर्दै आएका छन् । एकातर्फ कैदीबन्दीहरूले जीर्ण भवनमा बसेर सजाय भुक्तान गरिरहँदा आफ्नो जीवनको सुरक्षा नभएको गुनासो गरिरहँदा विगत सात वर्षदेखि निर्माणाधिन नयाँ कारागार भवनले अझै पूर्णता पाउन सकेको छैन ।

तीन वर्ष भित्रमा निर्माण सक्नुपर्ने भवनको पटक पटक म्याद थप्दा समेत मुस्किलले कारागारको भौतिक संरचना मात्र तयार भएपनि पूर्णरुपमा तयार भइनसकेको जिल्ला कारागार डोल्पाले जनाएको छ ।
एटलस थोदुङ्ग कन्स्टक्सनले तीन करोड भन्दा माथिको लागतमा निर्माण गर्ने जिम्मा पाएको उक्त भवनको ०७२ असारमा भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएतापनि ०७५ सालमा भवन निर्माण कार्य सम्पन्न गरेको थियो ।

भवन बनाउन प्रयोग गरिएका सामाग्री कम गुणस्तरका भएकाले पनि भवन गुणस्तरीय नबनेको जिल्ला कारागारले जनाएको छ । एउटा निर्माण कम्पनीले संरचना तयार गर्ने र अर्काे कम्पनीले फिनिसिङ्गको काम गर्ने गरी जिम्मेवारी बाँडिएको कारागार प्रमुख दिनेश राउतले बताउनु भयो । भवनको बाहिरी र भित्री भागमा प्लास्टर गर्ने लगायतको कामको जिम्मा बि एन त्रिशक्ति दावा जेबी कन्टक्सनले लिएको छ ।

जिल्ला कारागार डोल्पामा क्षमता भन्दा धेरै बैदीबन्दी भएपछि बस्नमा समस्या भएको छ । कारागारको क्षमता २० जना पुरुष र तीन जना महिलाको भएपनि हाल ३३ जना कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य भएका छन् ।
नयाँ भवन समयमै निर्माण नहुँदा बि.स. २०२६ सालमा स्थापना भएको जीर्ण कारागार भवनमा कोचा कोच गरेर कैदीबन्दीहरू बस्न बाध्य भएको जेलेर दिनेश राउत बताउनु हुन्छ । नयाँ भवनमा प्रयाप्त कोठा र फराकिलो भएपनि पूर्णरुपमा निर्माण कार्य नसकिएकाले कैदीबन्दीलाई सार्न नसकिएको उहाँको भनाई छ ।

यसैगरी कारागारमा गतिलो बत्ति र खानेपानीको व्यवस्था हुन नसक्दा कैदीबन्दी र कर्मचारीलाई ठुलो समस्या हुने गरेको छ । पर्याप्त कर्मचारीको दरबन्दी हुँदा समेत सबै कर्मचारीको पदपूर्ति नहुँदा व्यवस्थापनमा ठुलो समस्या भएको जेलर दिनेश राउतले बताउनु भयो । कारागारमा कार्यरत हेल्थ असिस्टेन्ट समायोजनले अर्को ठाउँ गएपछि कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भइरहेकोे कारागारले जनाएको छ ।

त्यतिमात्र नभई तराईका जिल्लामा रहेका कैदी र डोल्पामा रहेका कैदीलाई दिइने दैनिक ६० रुपियाँ भत्ताले असमान भएको पनि कारागारले जनाएको छ । तराइका जिल्लामा ६० रुपियाँमा खाद्यान्न किन्न पुग्छ भने डोल्पामा ६० रुपियाँले तरकारी किन्न पनि नपुग्ने गरेको जेलर दिनेश राउतको भनाई छ ।

jillakaragar dolpa purano karagar new


विष्णु प्रसाद देवकोटा