सङ्घीय सरकारको निर्देशन अक्षरशः पालना गर्न मुख्यमन्त्रि राउतको आह्वान

  ०७६ चैत १३ गते

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १२ गते विज्ञप्ति जारी गर्दै विश्वभर फैलिँदै गरेको कोरोना भाइरसबाट बच्न सङ्घीय सरकारले जारी गरेको निर्देशनहरूमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै अक्षरशः पालना गर्न प्रदेशवासीलाई आह्वान गर्नुभएको छ ।

photo2020036dhnausha

मुख्यमन्त्रि राउतले जारी गर्नुभएको विज्ञप्तिमा कोरोना महामारीविरुद्ध लड्न तीनओटै तहको सरकार तथा सर्वसाधारणको एकता नै महामारीविरुद्धको बलियो हतियार रहेको उल्लेख छ ।

प्रदेशमा २५० आइसोलेशन बेड तयारी अवस्थामा रहेको र थप आइसोलेशन बेडको लागि गृहकार्य भइरहेको जनाइएको छ ।

विपद व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद् व्यवस्थापन कोषलाई ५० लाखको दरले रकम उपलब्ध गराउने, नेपाल प्रहरी प्रादेशिक कार्यालय जनकपुरलाई २० लाख रुपियाँ, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख रुपियाँ र राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई ५ लाख रुपियाँ उपलब्ध गराइएको जनाइएको छ ।

प्रदेश २ मा सामाजिक विकास मन्त्रालयमार्फत कोरोनासम्बन्धी उपचार र रोकथामका लागि प्रादेशिक अस्पताललाई १२ लाख रुपियाँ, जिल्ला अस्पतालहरुलाई पाँच लाख रुपियाँको दरले, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधि र व्यक्तिगत उपचार उपकरणका लागि १० लाख रुपियाँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पाँच लाख रुपियाँ, जनचेतनामूलक प्रचारप्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई पाँच लाख रुपियाँ, मन्त्रालयमार्फत नीतिगत खर्चका लागि १० लाख रुपियाँ, सरोकारवालालाई सचेतनामूलक अभियानका लागि १५ लाख रुपियाँ, स्थानीय तह स्वास्थ्य संयोजकहरूको अभिमुखीकरणको लागि १० लाख रुपियाँ, एकीकृत अनुगमनको लागि पाँच लाख रुपियाँ, एम्बुलेन्स सेवाको लागि तीन लाख रुपियाँ  छुट्याइएको र अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परेको खण्डमा प्रदेश सरकार तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।


दिपेन्द्रप्रसाद सिंह