सङ्क्रमणकालीन न्यायको व्यवस्थापनमा दुई आयोगबिच समन्वय र सहकार्यमा जोड

  ०७६ साउन १७ गते

सङ्क्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय मानव अधिकार आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग बीच समन्वय र सहकार्यको आवश्यकतामा जोड दिइएको छ ।

 

साउन १६ गते राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिव कृष्णजीवी घिमिरे तथा कर्मचारीहरूसँग भेटघाट तथा छलफल गरी सहकार्यमा जोड दिएका हुन ।

 

छलफलमा बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा ३ हजार १ सय ९७ उजुरी परेकामा २ हजार ५ सय ६ थान उजुरीको छानविन भइरहेको जानकारी दिइएको थियो ।

 

बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिव कृष्णजीवी घिमिरेले ६४ जिल्लाका २ हजार ८ थान उजुरीको छानविन गरी परिपुरण फाराम भराइ सकेको बताए ।

 

बेपत्ता हुनु अघिको व्यक्तिगत फारामलाई परिपुरण फारामका रूपमा विकास गरिएको आयोगले जनाएको छ ।

 

उजुरी परेका मध्ये २४ जना व्यक्ति बेपत्ता नभएको भनी सम्पर्कमा आएको बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगले जनाएको छ ।

 

विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान, २०६३ को मर्म र भावनालाई आत्मसात गरी सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पार्ने घटनाको छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने ध्येयका साथ बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको थियो ।


दीपकप्रसाद घिमिरे