सङ्कटको समयमा धैर्य रहन स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको आग्रह, स्वास्थ्य संस्था खुल्ला राख्न सर्वसाधरणको माग

  ०७६ चैत १३ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरूको व्यक्तिगत सुरक्षाका थप सामग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले हाल मौज्दात सामग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्रीले भन्नु भएको छ–‘तपाईहरूकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् । धैर्य गरौँ । कोभिड–१९ को एकजुट भएर सामना गरौँ । सरकार तपाईहरूसँगै छ । चिन्तित नहोऔँ ।’
photo20200326kathmandu
तर, गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट स्वास्थ्य संस्था नखोलेको भन्दै खुल्ला गर्न सर्वसाधरणले माग गरेका छन् ।

विश्वव्यापी माहामारीको रूपमा देखिएको कोरोना भाइरस डिजिज (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई अत्यावश्यक क्षेत्रका रूपमा समावेश गर्दै २४ सै घण्टा सेवामा रहन आग्रह गरेपनि सरकारको अनुरोधलाई अस्वीकार गर्दै पर्वतका नीजि मेडिकल तथा औषधि पसलहरू बन्द रहेका इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभएको छ ।

लगातार खोकी लागेका कारण उपचारको लागि चितवनको भरतपुर पुग्नुभएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोति नपा–३ का ४३ वर्षीय दुर्गाबहादुर बिकलाई चितवनका दुई ओटा अस्पतालले भर्ना नगरेर घर फर्काएको इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जानकारी दिनुभएको छ ।

महामारी फैलिएको समयमा सामान्य रूघा लागेको बिरामीलाई पनि अस्पतालमा स्वास्थ्यकर्मीले शङ्काले हेर्ने गरेको र उपचार दिन नमानेको बिकको गुनासो छ ।

लगातार खोकी लागेपछि चैत १२ गते बिहान उपचारको लागि चितवन जानुभएका बिकलाई अस्पतालले उपचारको लागि भर्ना गर्न अस्वीकार गरेपछि घर फर्कनु परेको उहाँले बताउनुभयो ।

इन्सेक बाग्लुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार कोरोना सङ्क्रमणको आशङ्का गरिएका दुई जनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

बागलुङमा आवश्यक उपचारका लागि तयारी तीव्र पारिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र वि. पोखरेलले बताउनुभएको छ ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार निेशेधाज्ञाको समयमा मुस्ताङको जोमसोमबाट १० जना मजदुरहरूलाई लिएर आएको लु १ ख ८०११ नम्बरको ट्रकलाई प्रहरीले मुस्ताङ नै फिर्ता पठाएको छ ।
अत्यावश्यक सामग्रीसहित मालवाहक सवारी साधन चल्न पाइने भए पनि यात्रु सहित आएको कारणले गर्दा प्रहरीलाई अनुरोध गरेरै मुस्ताङतर्फ नै फिर्ता पठाइएको नागरिक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकले आउँदो १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

जिल्ला सुरक्षा समितिकिो बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम म्याग्दी जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।


अनलाइन डेस्क