संसदीय टोलीद्वारा निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन

  ०७६ कात्तिक ३० गते

सङ्घीय संसद अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको पाँच सदस्यीय टोलीले कात्तिक २९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन तथा अवलोकन गरेको छ ।

समितिद्वारा स्थायी रूपमा निकुञ्ज विस्थापितका समस्या समाधान गर्न गठित समितिका संयोजक सांसद भुपेन्द्र थापाको नेतृत्वमा रहेको टोलीले निकुञ्ज विस्थापित परिवारलाई भेटेर अवस्थाबारे जानकारी लिएको छ ।

निकुञ्जको तारापुर शिविरमा बस्दै आएका नरिभान ढुङ्गानाले स्थायी बसोबाससँगै स्वास्थ्य, रोजगारी र शिक्षाको सुनिश्चितता गर्नुपर्ने बताए ।

यसैगरी जङ्गली वन्यजन्तु सँगै औलोलगायतका रोगसँग पनि सङ्घर्ष गर्नु परेको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हिरा भण्डारीले बताए ।

अध्ययन तथा अवलोकन टोलीका संयोजक भुपेन्द्र थापाले विस्थापित परिवारको अवस्थाबारे स्थलगत जानकारी लिन आएको बताए ।

स्थलगत अवलोकन र अध्ययनका क्रममा देखिएका कुराहरू समेटेर प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाइ समस्या समाधानका लागि पहल गरिने उनले बताए ।

टोलीसँगै सहभागी रहेका प्रतिनिधि सभा सांसद नरबहादुर धामीले विस्थापितको समस्या यथाशीघ्र समाधान गर्ने उद्देश्यले गम्भीर भएर लागेको बताए ।

सांसद धामीले निकुञ्ज विस्थापितको समस्या समाधानका लागि पटकपटक प्रतिनिधिसभाको बैठकमा विषय उठाए बमोजिम सङ्घीय संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनका लागि लिखित व्यहोरा पेश गरी दर्ता गरे अनुरूप समितिको पाँच सदस्यीय टोली विस्थापित परिवारको अवस्था बुझ्न आइपुगेको बताए ।

विस्थापित परिवारको अवलोकन तथा अध्ययनका लागि समितिका संयोजक थापासहित सदस्य राधा ज्ञवाली, राजबहादुर बुढा, शान्ति पाख्रिन र सचिव उदय भण्डारी सहभागी रहेका छन् ।

समितिका सदस्यले निकुञ्ज विस्थापित परिवार बस्दै आएको ढक्का र तारापुर शिविरमा पुगेर विस्थापित परिवारसँग छलफलसँगै अवस्थाबारे जानकारी लिएका छन् ।

२०३१ सालमा स्थापना भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षको सुरूको १ सय ५५ वर्ग किलोमिटर क्षेत्रफललाई २०३७ सालमा पूर्वतर्फको १ सय ५० वर्ग किलोमिटरलाई विस्तार गरी ३ सय ५ वर्ग किलो मिटर पुर्‍याउने तयारीबमोजिम विस्तारित क्षेत्रको मानव बस्तीको जग्गा अधिग्रहण गर्दै बस्तीलाई विस्थापित गरेको थियो ।

विस्तारित क्षेत्रबाट विस्थापनमा परेकामध्ये ५ हजार २ सय घरपरिवारलाई जग्गा सट्टाभर्ना दिई पुनः स्थापन गराइएको थियो ।

२०३७ सालदेखि हालसम्मको ३८ वर्षको समयमा आरक्षबाट विस्थापनमा परी पुनःस्थापन हुन नसकेका २ हजार ४ सय ७३ परिवारको समस्या समाधान गर्नका लागि २९ ओटा आयोग बनेका छन् । आयोगले आरक्ष विस्थापित परिवारको समस्या भने समाधान गर्न सकेको छैन ।

photo20191115kanchanpur


कोमलनिरन्जन भाट