संवैधानिक अधिकार माग्दै डोम भेला

  ०७४ साउन २ गते

नेपालको संविधानमा व्यवस्था भएको दलितको हक, सामाजिक न्यायको हक र छुवाछुतविरुद्धको हकअन्तर्गतको मौलिक अधिकारको माग गर्दै डोम समुदायले राजविराजमा साउन २ गते जिल्ला भेला गरेको छ ।

११ वुँदे घोषणा पत्र जारी गर्दै भेलाले सरकारी सेवामा आरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारमा विशेष व्यवस्था, जातीय छुवाछुत, विभेदका घटनामा पीडकविरुद्ध तुरुन्त मुद्दा दर्ता, डोम समुदाय बसोबास गर्ने क्षेत्रमा सार्वजनिक शौचालयको ब्यवस्था, डोम समुदायका विद्यार्थीलाई शिक्षा हासिल गर्ने क्रममा डेरा नपाउने समस्या समाधान गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

'जाति छोडौँ, मानवता जोडौँ' भन्ने नाराका साथ गरिएको भेलामा दलित समुदायमा सबैभन्दा पछाडि परेका डोम समुदायको जिल्लाभरीका अगुवाहरूको सहभागिता थियो ।

भेलामा डोम समुदायबाट स्नातक गरेका डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्ति मरिकले संविधानमा व्यवस्था भएपनि कार्यान्वयन नभइरहेको दुखेसो पोखे । उनले भने-'कुकुर बस्न पाउँछ तर डोम समुदायले गाउँमा बस्न पाइरहेको छैन ।' जनता आवासको घर बनाउन छुवाछुत मान्ने उच्च जाति भनिनेहरूले अवरोध गरिरहेको उनको गुनासो थियो ।

राजनीतिक पहुँचका आधारमा स्थानीय निकायबाट उच्च जातिका धनीहरूले ट्युववेल पाएपनि डोम समुदायले किनेर पानी पिउनु पर्ने बाध्यता रहेको मरिकले बताए ।

उक्त भेलामा जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत सुरज निरौला, डिएसपी यादवराज उप्रेती, दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेशकुमार विशुंखेले डोम समुदायको उत्थान र सशक्तिकरणका लागि थुप्रै काम गर्नुपर्ने आवश्यक्ता रहेको औँल्याए ।


मनोहरकुमार पोखरेल