संविधान संशोधन प्रस्तावको विरोधमा आज पनि बन्द र प्रदर्शन

  ०७३ मङ्सिर १६ गते

व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा मङ्सिर १६ गते पनि आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सिमाङ्कन हेरफेरसहित संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता गराएको विरोधमा गरिएको बन्द र प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ ।

photo20161201rupandehi

बन्दकर्ताहरूले बिहानैदेखि बुटवलका विभिन्न चोकहरू, अस्पताल लाइन, मिलनचोक, गोलपार्क पुष्पलाल पार्क, ट्राफिक चोक, राजमार्ग चौराहा र नेपालगञ्ज रोडमा टायर बालेर प्रदर्शन गरेका थिए ।

एमाले निकट अनेरास्ववियू रुपन्देही, नेविसङ्घ, अखण्ड प्रदेश नं ५ प्रदेश दबाव अभियान रुपन्देही, अखिल छैठौँलगायतका सङ्घसङ्गठनहरूले संयुक्त रूपमा मङ्सिर १६ गते पनि प्रदर्शन गरेका हुन् ।

photo20161201rupandehi1

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरू ठप्प पारिएपनि तरकारी, दुध, एम्बुलेन्स, विवाह, सञ्चार, मानव अधिकारकर्मीलगायतका अत्यावश्यक सवारी साधनहरू भने निर्वाध सञ्चालनमा रहेका थिए ।

यस क्षेत्रका बजार उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्थाहरू, औषधि पसलहरूसमेत पूर्ण रूपमा बन्द रहे ।

photo20161201rupandehi2

बन्दकर्ताले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेपछि केहीबेर स्थिति तनाव ग्रस्त भएको प्रहरीले जनाएको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बुटवलमा रहेको होटल कस्तुरी, पुष्पलाल पार्कमा रहेको पार्कको दिवाललगायत तोडफोड गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

अखण्ड ५ नं प्रदेश दबाव अभियान लुम्बिनीका संयोजक विष्णु पोख्रेलले सरकारले निर्णय नसच्चाएसम्म अनिश्चितकालिन रुपन्देही बन्द गर्ने बताए ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा बन्दको अनुगमनसमेत गरिएको थियो ।

photo20161201rupandehi3

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार संविधान संशोधनमार्फत सिमाङ्कनको हेरफेर गर्न लागेको विरोधमा मङ्सिर १६ गते गरिएको पाल्पा बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

photo20161201palpa

बन्दका कारण लामो तथा छोटो दुरीका सार्वजनिक सवारी सधान, विद्यालय तथा कलकारखाना समेत बन्द छन् ।

बन्दकर्ताले तरकारी, दुध, एम्बुलेन्स, विवाह, सञ्चार, मानव अधिकारकर्मीलगायतका सवारी साधनलाई भने निर्वाध सञ्चालन हुन दिएका थिए ।

सरकारले संविधान संशोधनमार्फत प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरू पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र आधा रुकुमलाई प्रदेश नम्बर ४ मा लैजाने गरी मङ्सिर १४ गते  विधेयक दर्ता गरेपछि पहाडी जिल्लाहरूमा आन्दोलन सुरु भएको हो ।

सिमाङ्कन हेरफेरको यो प्रस्ताव हिमाल, पहाड र तपाईलाई अलग गराउने सुनियोजित योजना बमोजिम भएको भन्दै पाल्पाका राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधिलगायतले एक प्रेस विज्ञप्ति जारी गरी थप आन्दोलनका कार्यक्रम शसक्त बनाउने जनाएका छन् ।

photo20161201palpa1

थप आन्दोलनका कार्यक्रम अन्तर्गत १७ गते बुटवलमा प्रदेश स्तरीय सभा र १८ गतेबाट पाल्पा बन्द कार्यक्रमको घोषणा गरिएको नेपाली कांग्रेस पाल्पाका सभापति बीरबहादुर रानाले बताए ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार संविधान संशोधन प्रस्तावको विरोध गर्दै घोराहीमा संयुक्त राजनीतिक सङ्घर्ष समितिले प्रदर्शन गरेको छ । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले र नेकपा माओवादी (क्रान्तिकारी)ले संयुक्तरूपमा संविधान संशोधनको विरोधमा प्रदर्शन गरेका हुन् ।

photo20161201dang

घोराहीको ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन घोराहीबजार परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै आन्दोलनकारीहरूले सरकारलाई विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।

पहाड र तराईलाई छुट्याउने गरी ल्याइएको विधेयक राष्ट्रघाति भन्दै उनीहरूले विधेयक फिर्ता नलिए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

राष्ट्र र राष्ट्रियता बचाउनका लागि आन्दोलन गरिएकाले जस्तोसुकै कडा आन्दोलन गर्न पनि आफूहरू तयार रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक टीकाराम खड्काले बताए ।

इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार नेकपा एमाले जिल्ला पार्टी कार्यलयमा अज्ञात समूहले आगजनी गरी क्षति पुर्‍याएको छ । आगजनीबाट कार्यलय भवनको अगाडिको झ्यालमा क्षति पुगेको पार्टी उपसचिव तुल्सि पासीले जानकारी दिए ।

बिहान ६ बजेभन्दा अगाडि नै एक्कासी आगो धुँवाको मुस्लो निस्किएपछि स्थानीयले जिल्ला प्रहरी कार्यलयमा फोन गरेर खबर गरेका थिए । प्रहरीको सहयोगमा तत्काल दमकलले आगो नियन्त्रणमा लिएर ठुलो क्षति हुनबाट बचाएको पासीले बताए ।

घटनाको विरुद्धमा पार्टी र त्यसका भातृ सङ्गठनहरू अनेरास्ववियू, युवा सङ्घ, अनेमसंघलगायतले विज्ञप्ति प्रकाशन गरेर घटनाको भत्सर्ना गर्दै दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार संविधान संशोधन प्रस्तावको विरोधमा एमाले भ्रातृ संगठन अनेरास्ववियु र युवा सङ्घ नेपालले मङ्सिर १६ गते सदरमुकाम गाईघाटमा प्रदर्शन गरेका छन् ।

संविधान कार्यान्वयनमा जुटनुपर्ने बेलामा वर्तमान सरकारले विदेशीको इशारामा देश टुक्र्याउन खोजेको आरोप लगाए । उनीहरूले संविधान संशोधन गर्न कुनै पनि हालतमा नदिने भन्दै सरकार मुडभेडमा उत्रिए त्यसको शसक्त प्रतिकार गर्नेसमेत चेतवानी दिए । साथै उनीहरूले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन निरन्तर लैजानेसमेत बताए ।


अनलाइन डेस्क