संविधान दिवसको अवसरमा विविध कार्यक्रम 

  ०७३ असोज ३ गते

कार्यान्वयनमा लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरेर लोकतन्त्रको जगेर्ना गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेकी छन् ।

संविधान दिवसको अवसरमा असोज २ गते शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् ।

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विवेक ढुङ्गानाका अनुसार उनले द्वन्द्व र सङ्क्रमणकालको अन्त्यसँगै देशको भविष्य निर्धारण गर्ने अभिभाराका साथ नयाँ संविधान जारी भएको उल्लेख गरेकी छन् ।

सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको साथै सबै वर्ग, क्षेत्र, तह र तप्काका नागरिकको हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । राष्ट्रपति भण्डारीले संविधानको कार्यान्व्यनका लागि मन, वचन, र कर्मले समर्पित हुन र समृद्धितर्फदेशलाई अघि बढाउन आग्रहसमेत गरेकी छन् ।

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गरेको र समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको जनाउँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय एकताका साथ शान्त, समुन्नत, न्यायपूर्ण र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासको लागि सबै नेपाली अघि बढ्नुपर्ने बताएकी छन् ।

नेपालको संविधान जारी भएको पहिलो वाषिर्कोत्सवका अवसरमा असोज ३ गते काठमाडौँमा विशेष समारोहको आयोजना गरिएको छ । संविधानसभामार्फत एकवर्षअघि आजकै दिन संविधान जारी गरिएको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, समारोह समिति अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीले शान्तिको प्रतिक सेतो परेवा उडाएका थिए ।

'विश्वका कुनै पनि संविधान एकैचोटि पूर्ण भएका छैनन्, समय समयमा हुने संशोधनबाट संविधान परिष्कृत र परिपक्क हुने हो ।'-प्रधानमन्त्री दाहालले भने । उनले संविधान गतिशील र जीवन्त दस्तावेज भएकाले मुलुकको वस्तुगत परिस्थिति र जनताको आकाङ्क्षाअनुसार यसलाई संशोधन गर्नुपर्ने विचार व्यक्त गरे ।

संविधान दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ । आज विदेशमा रहेका नेपालीले पनि संविधान दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाउँदै छन् ।

संविधानले जनताको लामो समयदेखिको सपना पूरा गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै नेकपा एमालेले उत्सवका रूपमा काठमडौँमा र्‍याली प्रदर्शन गरेको छ ।

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार संविधान दिवसको अवसरमा असोज ३ गते जुम्लामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला शिक्षा कार्यालय, जुम्लाको आयोजनामा संविधानका विशेषता विषयमा माध्यमिक र उच्च माध्यमिक स्तरीय वतृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला विकास समितिको आयोजनामा संविधान दिवसको अवसरमा दीप प्रज्वलन, र्‍याली र संविधानका अन्तरवस्तुका विषयमा कार्यक्रम गरेर मनाइएको बताए ।

इन्सेक भोजपुर जिल्ला प्रतिनिधि किरण राईका अनुसार संविधानसभाबाट नेपालको संविधान जारी भएको एक बर्षबित्दा पनि अपेक्षाकृत रूपमा कार्न्यान्वयन नगरिएको भन्दै संविधान कार्यान्वयनमा ध्यान दिन सरकार र राजनीतिक दलहरूलाई भोजपुरका सर्वसाधरणले सुझाव दिएका छन् ।

नयाँ संविधान जारी हुँदा नेपाली जनताले राजनीतिक स्थायित्व, शान्ति, सुरक्षा, विकास र निकासको अपेक्षा गरेपनि सोचे अनुसार नभएको भन्दै संविधान कार्यान्वयनलाई जोड दिएर देशलाई चाँडो निकास दिन उनीहरूले सुझाव दिएका हुन् ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीका अनुसार शान्तिका लागि नागरिक समाजको सञ्जाल, युवा आवाज ढिकुरपोखरी, स्त्रीशक्ति काठमाडौँको संयुक्त आयोजनामा गरिएको अन्तरक्रियामा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले अधिकार नै अधिकार लेखिएको संविधानमा कर्तव्यलाई बिर्सिएकोले आज संविधान कार्यान्वयनमा अराजकता देखिएको बताए ।

कार्यक्रममा सहभागी भएकाहरूले संविधान गतिशील दस्तावेज भएकोले थप अधिकारका लागि सङ्घर्ष र परिमार्जन गर्दै हाल भएका अधिकारहरूको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।


अनलाइन डेस्क