संरक्षण अधिकृतलाई 'कारवाही' गर्ने धम्की

  ०७५ असोज १८ गते

सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनपरिषद डोल्पाले 'कारवाही' गर्ने धक्की दिएको छ ।

संरक्षण अधिकृत चौधरीले जडिबुटी तस्करी, सोतोचिनी (खिराङ्गलो) लगायतको जडिबुटी जालसाजी गरी तस्करी गर्ने गरेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको क्षेत्राधिकार मिचेर आफैँले बजेट विनियोजन गरी प्रत्येक वन समितिबाट विनियोजित योजना रकममा प्रतिशतका आधारमा कमिशन लिने गरेको जनपरिषद डोल्पाका इञ्चार्ज अटलद्वारा असोज १५ गते हस्ताक्षरित सूचनामा जनाइएको छ ।

यसैगरी तल्लो दर्जाका निकुन्ज कर्मचारीलाई शोषण गरेको, निकुन्ज क्षेत्रको जग्गामा जथाभावी नियम विपरीत मोटो रकम कमिशन लिने गरेको र सरकारी जग्गा भाडामा दिएको रुपियाँ बापतको रकम आफैँले लिने गरेको उल्लेख गर्दै जिल्ला जनपरिषदको कार्यालय कालिकामा उपस्थित हुन ३५ दिने अल्टिमेटम दिएको सूचनामा उल्लेख छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भेरी कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिषद कार्यालय डोल्पाले असोज १५ गते ३५ दिने अल्टिमेटमसहितको पत्र सार्वजनिक गरेपछि संरक्षण अधिकृत चौधरीले आफूले कँहि कतै पदीय दायित्व भन्दा बाहिर गएर काम नगरेको प्रतिक्रिया दिएका छन् ।

सो पार्टीका कार्यकर्तले चन्दा माग्दा नदिएको रिसइवी साटेर आफूमाथि कपोलकल्पित आरोप लगाएर चरित्र हत्या गर्न खोजेको संरक्षण अधिकृत चौधरीले बताए ।

आर्थिक हिनामिना गरेको महिला कर्मचारीलाई डरत्रास देखाएर यौनशोषण गर्ने गरेकोलगायतका दर्जनौँ आरोप लगाएर ०७४ पुस २२ गते संरक्षण अधिकृत चौधरीलाई सो पार्टीका कार्यकर्ताले कार्यालयमै पुगेर मोसो दलेर दुर्व्यवहारको प्रयास गरेका थिए ।


विष्णुप्रसाद देवकोटा