संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

  ०७७ असोज २९ गते

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदको सदस्यमा नेपाल दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको निर्वाचनमा नेपाल पुन: तीन वर्षका लागि सदस्यमा निर्वाचित भएको हो । सन् २०२१-२०२३ सम्मका लागि नेपाल निर्वाचित भएको संयुक्त राष्ट्र सङ्घको लागि नेपालको स्थायी मिसनले जनाएको छ ।

यसअघि सन् २०१८-२०२० का लागि नेपाल निर्वाचित भएको थियो। एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् ।

गोप्य रुपमा भएको मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको मिसनद्वारा जार  विज्ञप्तिमा जनाइएको छ ।

नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मालावी र सेनेगल, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स निर्वाचित भएका छन् ।

एसिया प्रशान्त क्षेत्रबाहेक अन्य क्षेत्रका सदस्य निर्विरोध निर्वाचित भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिनुभएको छ ।

twitterphoto20201015kathmandu


अनलाइन डेस्क