श्रमिक महिला दिवसको दिन बालिका बलात्कार !

  ०७६ फागुन २६ गते

महिला तथा बालिका माथि हुने सबै प्रकारका हिंसा विरुद्ध सन्देश फैलाउन मनाउने गरिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन फागुन २५ गते दैलेख जिल्लामा दुई जना बालिका बलात्कारको घटनाबाट पीडित भएका छन् ।
एकै ठाउँमा मजदुरी गर्ने क्रममा १५ वर्षीया र १७ वर्षीया बालिकालाई दुई दिन अघि मात्र भेटघाट भएका एकै घरका दुई दाजुभाईले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
डुङ्गेश्वर गाउँपालिका–१ जाहरेखोलाका २४ वर्षीय सुरेश बिक र २२ वर्षीय प्रेम बिकले फागुन २५ गते जङ्गलमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनसिंह सावदले जानकारी दिनुभयो ।
पीडित पक्षबाट आएको उजुरीको आधारमा आरोपित मध्ये सुरेश बिक घरबाट फागुन २५ गते गिरफ्तार भएका छन् भने प्रेम बिक फरार भएकाले खोजीसँगै घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पीडित बालिका दुबैको स्वास्थ्य परीक्षण फागुन २६ गते दैलेख जिल्ला अस्पतालमा भयो ।


अमर सुनार