श्रमको ज्याला नपाएको मजदुरहरूको गुनासो

  ०७६ भदौ १९ गते

भगवतीमाई गाउँपालिकाको स्वीकृत बजेटभित्र वडा नम्बर १ स्थित कोटाटाकुरा शिव मन्दिर जाने बाटोको सिँडी निर्माणको काम गरेका मजदुरहरूले दुई वर्षसम्म पनि श्रमको ज्याला नपाएको गुनासो गरेका छन् ।

 

बेस्तडा बजारबाट पगनाथ तर्फको उकालोको भीरमा ज्यान जोखिम राखेर सिँडी बनाएपनि तर मजदुरी गरेको रकम नपाएको भगवतीमाई गाउँपालिका–६ कट्टीका सिंहबीर रोकायले बताए ।

 

आर्थिक वर्ष २०७४/०७५ अन्तर्गत माघमा गठन भएको उपभोक्ता समितिका अध्यक्षमा खगेन्द्रबहादुर थापा भए पनि कामको जिम्मा लिएका उपभोक्ता समितिका सदस्य बलबहादुर थापाले विनियोजित बजेट सकिएको जानकारी गराउँदा गाउँपालिकाले काम गराउँदै गर्नुस् पैसा पाइहाल्नुहुन्छ भनेको आधारमा बढी काम गरेको तर पारिश्रमिक नपाएको मजदुरहरूको गुनासो रहेको छ ।

 

‘आँटिला र जाँगरिला युवाहरू भएर भीर काटेर मन्दिर जाने बाटो बनायौँ तर मजदुरी पाएनौँ ।’–भगवतीमाई गाउँपालिका–२ रुमकी पानसरा बिकले भनिन् । पानसराले आफू जस्तै ७३ जना मजदुरले ज्याला नपाएको बताएका छन् ।

 

दैनिक ५ सय रुपियाँको दरले दिने सम्झौता अनुसार काम गरेका मध्ये कट्टीका मनोज थापाले ३७ दिनको १८ हजार ५ सय, ३३ दिनको ढालबहादुर केसीले १६ हजार ५ सय पाउन बाँकी रहेको पीडितले बताए । सबै मजदुरले पाउने ज्यालाको रकम हिसाब गर्दा ७ लाख ५ हजार १ सय ८० रुपियाँ हुन जाने उपभोक्ता समितिका सदस्य थापाले जानकारी दिए ।

 

‘गाउँपालिका अध्यक्ष दानबहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी र इञ्जिनियर शैलेश शर्मा समेतलाई रकम सकियो काम रोक्छु भन्दा गर्दै गर्नुस्, पछि पाइहाल्नुहुन्छ भनियो तर पछि जानीजानी घाटा गराउन मूल्याङ्कन घटाइयो ।’–थापाले भने ।

 

काम गरेका मजदुर रकम माग्दा आइरहने गरेकोले ५–७ हजार रुपियाँ गरी आफ्नो तर्फबाट साढे ३ लाख रुपियाँ मजदुरलाई तिरे पनि गाउँपालिकाका पदाधिकारीहरूको बदनियतका कारण आफूलाई समेत समस्या भएको थापाको भनाई छ । मजदुर र उपभोक्ता समितिले कामको पुनःमुल्याङ्कन गरी रकम पाउन गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिँदा समेत बेवास्ता भएको मजदुर ढालबहादुर केसीको भनाई छ ।

 

यसबारे गाउँपालिका अध्यक्ष दानबहादुर थापाले उपभोक्ता समितिसँगको पहिलो सम्झौता अनुसार १५ लाख ८४ हजार रुपियाँ भुक्तानी गरिएको तर सम्झौता नभई गरिएको कामको भुक्तानी नगरिएको प्रतिक्रिया दिए । काम थप काम गर्नै परे सम्झौता गरेर गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।

 

गाउँपालिकाको काम गरेर ठगिएको विषयमा न्यायिक समितिमा उजुरी गर्दा पनि सुनुवाई नभएको मजदुर पदम कसेराले बताए । उता गाउँपालिकाकी उपाध्यक्ष चन्द्रा रेग्मीले भने आफू कहाँ लिखित उजुरी नआएकोले सो विषयमा छलफल नभएको बताइन् ।

 

गाउँपालिकाको निर्वाचित बोर्डको पहिलो बजेटबाट १० लाख रुपियाँमा मन्दिर र मन्दिर जाने बाटोको लागि १५ लाख ८४ हजार रुपियाँ छुट्टयाएर दुई ओटा छुट्टाछुट्टै उपभोक्ता समितिबाट काम सुरू गरिएको थियो ।


अमर सुनार