शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालयमा पठनपाठन नभएको गुनासो

  ०७४ चैत २९ गते

शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म सिमकोट गाउँपालिकास्थित हिमगिरी प्रावि र नाम्खा गाउँपालिकाको खासरपानी प्राविमा पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् ।

शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालय सञ्चालन नहुँदा आफ्ना बालबालिकाको पठनपाठन प्रभावित भएको अभिभावक कुगाटसिं लामाले गुनासो गरेका हुन् । उनले भने-'जिल्लाका अरू विद्यालयमा पढाइ भएको दुई महिना बित्यो । तर, यी दुई विद्यालयमा चैत २९ गतेसम्म पठनपाठन सुरू भएको छैन ।'

जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाका अनुसार हिमगिरी प्राविमा दुई जना शिक्षकको दरबन्दी रहेकामा विद्यालयमा बालबालिका पढ्न नआएपछि उक्त विद्यालयका शिक्षकलाई अन्य विद्यालयमा काजमा पठाइएको हो ।

गुणस्तरीय शिक्षा नपाउँदा विद्यार्थीको पठनपाठन प्रभावित

जिल्लाका १३ वटा प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाले गुणस्तरीय शिक्षा नपाएपछि पठनपाठनबाट प्रभावित भएको छ । हुम्लाका एकदेखि पाँच कक्षासम्म प्रावि तहका शिक्षकले नपढाउँदा विद्यार्थी प्रत्यक्ष मर्कामा परेका हुन् । 'बाल विकासका शिक्षकको भरमा हामीले गुणस्तरीय शिक्षा पाएका छैनौँ ।'-सरस्वती प्रावि कक्षा चारमा अध्यानरत बालिका शुष्मा शाहीले गुनासो गरिन् ।

विद्यार्थी सङ्ख्या पुगेपछि जिल्ला शिक्षा कार्यालयले दरबन्दी बिना विद्यालय सञ्चालनको अनुमति दिएको छ । बालविकासको नाममा आएका शिक्षकको भरमा ती विद्यालय सञ्चालन हुँदै आए पनि बालबालिकाले गुणस्तरीय शिक्षा पाउन नसकेको शान्ति प्रावि कक्षा पाँचमा अध्यनरत बालक भरत बुढाको भनाई छ । उनले भने-'बालविकासका शिक्षकले पढाएका विद्यार्थी अर्को विद्यालयमा भर्ना हुँदा कक्षा ६ भन्दा माथि पास गर्न सकेका छैनौँ ।'

योग्यता कम भएका शिक्षकले विद्यालयमा पठनपाठन गर्दा हुम्लाका हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको अभिभावकले गुनासो गरेका छन् ।

कक्षा १० सम्म अध्ययन गरेका न्यून पारिश्रमिक पाउने बालविकासका शिक्षकको भरमा पछिल्लो समय सञ्चालन अनुमति पाएका प्राथमिक विद्यालयहरू सञ्चालन हुँदै आएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत विष्णुबहादुर शाहीले बताए । यसरी कम शैक्षिक योग्यता भएका बालविकासका शिक्षकको भरमा पठनपाठन सञ्चालन हुँदै आएका विद्यालयमा सिमकोट गाँउपालिका-७ को दोभान र कालाशिल्ता प्रावि कक्षा चारसम्म, खार्पुनाथ गाँउपालिका-२ को सरस्वती प्रावि कक्षा चार, सर्केगार्ड गाँउपालिका-२ को सुर्योदय र इश्वर प्रावि कक्षा तीनसम्म सञ्चालन हुँदै आएको शाखा अधिकृत शाहीले बताए ।

त्यस्तै चङ्खेली गाँउपालिका-३ को शान्ति, महादेव र विद्याज्योति प्रावि पनि बिना दरबन्दी विद्यालयमा रहेको बाल विकासका शिक्षकद्वारा नै कक्षा सञ्चालन हुँदै आएका छन् । त्यस्तै अदानुचुली गाँउपालिका-५ को पागर पानी प्रावि र ताँजाकोट गाँउपालिका-६ को जनता, महादेव, कैलाश र जगतमाला प्राविमा पनि कक्षा तीन सम्मको पढाइ भइरहेको शाहीले बताए ।

विद्यालय सञ्चालन गर्न आवश्यक विद्यार्थी र दुई चार वटा जस्ताले छाएको कोठाको भरमा ती विद्यालयलाई शिक्षक दरबन्दी बिनै अनुमति दिइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

नयाँ संरचना अनुसार विद्यायल शिक्षा स्थानीय तहको जिम्मामा गएको भएपनि यस सम्बन्धमा स्थानीय तहले कुनै जानकारी नभएको भन्दै पन्छिने गरेका छन् ।


नन्द सिंह