शैक्षिक सत्र सरू भएको दुई महिना बित्दा समेत पुस्तक अभाव

  ०७६ जेठ १० गते

शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दा समेत भोटखोला गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाएका छैनन् ।

यहाँ प्राथमिक तह र निम्न माध्यमिक तहका पाठ्यपुस्तकको माग ढिला गरि पूरा भएपनि माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।

जिल्लाको भोटखोला गाउँपालिकाका दुई माध्यमिक विभिन्न विद्यालयका विद्यार्थीहरूले अझैसम्म पनि नयाँ पुस्तक पाएको गुनासो गरेका छन् ।

भोटखोला गाउँपालिकाको कृष्ण माध्यमिक विद्यालय गोलाका विद्यार्थी थुन्डुक भोटेले अहिलेसम्म नयाँ पुस्तक नपाएको बताए ।

‘हामिले शैक्षिक सत्र सुरू हुदाँ नै नयाँ पुस्तक पाउछौँ भन्ने सुनेको थिएँ । तर, हामीले त पाएनौँ ।’–भोटेले भने ।

भोटेका अनुसार अहिले अधिकांश विद्यार्थीले कक्षा पार गरेका विद्यार्थीबाट पुराना पुस्तक मागेर काम चलाइरहेका छन् ।

सो विद्यालयका शिक्षक पासाङ शेर्पाले अहिले सम्म नयाँ पाठ्यपुस्तक नआएको बताए । भोटखोला क्षेत्रमा रहेका दुई ओटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।

कक्षा ९ र १० को ऐच्छिक गणित किताब अहिलेसम्म आपूmहरूले नपाएको विद्यार्थीहरूले बताए । कृष्ण मावि गोलाका विद्यार्थी तेन्जि शेर्पाले अरू सबै किताब पाए पनि ऐच्छिक गणित र सामाजिक शिक्षा भने नपाएको बताए ।

सो विद्यालयका शिक्षक लाक्पा तेण्डी लामाले हासम्म ऐच्छिक गणित र सामाजिक शिक्षा विद्यालयमा आएको बताए ।

हिमालय माध्यमिक विद्यालय हेदाङनाका प्रधानाध्यापक चन्द्रशेखर चौधरीले ऐच्छिक गणित र सामाजिक किताब प्राप्त गर्न नसकेको बताए ।

प्रअ चौधरीका अनुसार स्थानीय तहले दिने भुक्तानी नदिएका कारण पसलेले पुस्तक विद्यालयलाई नदिएको हो ।

उनले भने–‘स्थानीय तहले पुस्तक विक्रेतालाई भुक्तानी दिएका छैन रहेछ । त्यसैले हामीलाई पसलेले पुस्तक दिएन । शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दासम्म विद्यार्थी पुरानै पुस्तकमा पढ्न बाध्य छन् ।’

यता शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाले पुस्तक ल्याउने जिम्मा स्थानीय तहको भएको जनाएको छ ।

सरकारले शैक्षिक गुणस्तर सुधारको बहस गरिरहेका बेला यहाँका विद्यार्थीले पाठ्यपुस्तक समेत नपाउँदा सरकारप्रतिको अविश्वास झनै बढेको अभिभावकहरू बताउँछन् ।

‘पाना च्यातिएको पाठ्यपुस्तक हातमा छ । अनि कसरी शैक्षिक प्रगति गर्ने ?’–विद्यार्थी अन्जु तामाङले भनिन् ।

शैक्षिकसत्र सुरू भएको दुई महिना बित्दा पनि अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

स्थानीय तहले पाठ्यपुस्तक किन्ने पैसा विद्यालयलाई उपलब्ध नगराउँदा पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।

भोटखोला गाउँपालिकाका दुई ओटा माध्यमिक विद्यालयमा ८३ जना विद्यार्थी अध्ययरत छन् । उनीहरू मध्ये २९ जनाले ऐच्छिक गणित विषय अध्ययन गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई सङ्खुवासभाले जनाएको छ ।


बाबुराम बास्तोला