शैक्षिक सत्र सकिनै लाग्दा समेत पाठ्यपुस्तकको अभाव कायमै

  ०७३ पुस २० गते

शैक्षिक सत्र सकिनै लाग्दा समेत बैतडीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएका छैनन् । यहाँ प्राथमिक तहका पाठ्यपुस्तकको माग ढिला गरि पूरा भएपनि निम्नमाध्यमिक र माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।

बैतडीमा ३ सय १९ ओटा प्रावि, १ सय ३ ओटा निमावि, ५६ ओटा मावि र ५१ ओटा उमावि रहेका छन् । पाठ्यपुस्तक वितरण प्रणालीकै कमजोरीका कारण विद्यार्थीले पाठ्यपुस्तक नपाएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक तथा सूचना अधिकारी शङ्करदत्त जोशीले बताए ।

जोशीका अनुसार अहिले अधिकांश विद्यार्थीले कक्षा पार गरेका विद्यार्थीबाट पुराना पुस्तक मागेर काम चलाइरहेका छन् । ‘विद्यार्थीले त्रैमासिक र अर्धवार्षिक गरी दुई ओटा परीक्षा दिइसके । अझैसम्म पनि नेपाल सरकारले पाठ्यपुस्तकको माग पुरा गर्न सकेको छैन ।’–स्थानीय अविभावक कमलापती भट्टले भने ।

सरकारले शैक्षिक गुणस्तर सुधारको बहस गरिरहेका बेला यहाँका विद्यार्थीले पाठ्यपुस्तक समेत नपाउँदा सरकारप्रतिको अविश्वास झनै बढेको अभिभावकहरू बताउँछन् । ‘पाना च्यातिएको पाठ्यपुस्तक हातमा छ । अनि कसरी शैक्षिक प्रगति गर्ने ?’–विद्यार्थी अञ्जना चन्दले भनिन् ।

यस शैक्षिक सत्रमा ४३ हजार १ सय ६० जना बालिका र ३९ हजार ४ सय ९ जना बालक गरी जम्मा ८२ हजार ५ सय ६९ बालबालिका विद्यालयमा भर्ना भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।


नरी बडु