शैक्षिक सत्रको आधा समय हुन लाग्दा पनि पाठ्यपुस्तकको अभाव

  ०७३ आसोज ३ गते

शैक्षिक सत्र सुरू भएको पाँच महिना बितिसक्दा पनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव अझैसम्म पनि छ ।

विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थीहरू वञ्चित भएका छन् । जिल्लाका उत्तरी क्षेत्रका ३६ भन्दा बढी विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न नसक्दा विद्यार्थीहरूले अध्ययन गर्न नपाएका हुन् । पाठ्यपुस्तक सदरममुकाम र गाउँका विभिन्न पसलमा भने अलपत्र अवस्थामा छन् ।

पुस्तक नपाएकाले अध्ययन गर्न समस्या भएको सालेवा उच्च माध्यमिक विद्यालय दोभानेको कक्षा १० मा अध्ययनरत डिम्पल राईले बताइन । पठायपुस्तक नहुँदा पनि विद्यालयले कुनै वास्ता नगरेको उनको आरोप छ ।

पाठयपुस्तक नभए पनि अर्धवार्षिक परीक्षा गराउन बाध्य भएको जाल्पा माध्यमिक विद्यालयका शिक्षक सुनिल राईले बताए । विद्यार्थीले पुस्तक हेर्न नपाउँदा अर्धवार्षिक परीक्षामा उपस्थिति मात्रै जनाएको उनले बताए ।

यस्तै जिल्लाको याङपाङ गाविसको कटका माध्यमिक विद्यालयमा पनि हालसम्म पुरै सेट पुस्तक पुग्न सकेको छैन । विद्यालयमा ऐच्छिक विषय अङ्ग्रेजी र नेपाली पुस्तक हालसम्म नपुगेको शिक्षक पदम ढकालले बताए । 'मुख्य ऐच्छिक विषय नै नभएकोले अर्धवार्षिक परीक्षा दिन विद्यार्थीलाई समस्या भयो ।'-शिक्षक ढकालले भने ।

जिल्ला शिक्षा अधिकारी सीताराम श्रेष्ठले पाठयपुस्तकको अभाव जिल्लाको मात्र समस्या नभएर देशकै समस्या भएको बताए । तुलनात्मक रूपमा अन्य जिल्लाहरूमा भन्दा यहाँ समयमा नै पठायपुस्तक आइपुगेको बताउँदै जिल्ला शिक्षा अधिकारी ढकालले केही विषय मात्रै ढिला भएको बताए ।

पाठ्यपुस्तक वितरण गर्ने जिम्मा पाएका जिल्लाको पाण्डे पुस्तक पसलका सञ्चालक मोहन पाण्डे केही ढिला गरी आएको पाठयपुस्तक पनि विद्यालयले लान ढिलासुस्ती गरेको बताउँछन । जिल्लामा आएको पुस्तक लानलाई विद्यालयले ढिलासुस्ती गरेकाले गोदाममै धेरै समय पुस्तक थन्किएको उनले बताए ।


किरण राई