शुल्क नतिरेको भन्दै परीक्षाफल रोकियो

  ०७५ चैत २९ गते

शुल्क नतिरेको भन्दै वारपाक सुुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीको शैलपुत्री माध्यमिक विद्यालयले सात जना विद्यार्थीको वार्षिक परीक्षाफल रोकेको छ ।

सो विद्यालयले चैत २८ गते वार्षिक परीक्षाफल प्रकाशित गरेको थियो । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ मा सबै नागरिकलाई आधारभुत तहसम्मको शिक्षाको पहुँचको प्रत्याभूति गर्ने भनी उल्लेख गरिएको छ ।

इसिडिमा अध्ययन गर्ने समीक्षा बराम र कक्षा १ का विशाल गुरुङले ७५ रुपियाँ वार्षिक परीक्षा शुल्क नतिरेको विद्यालयले निकालेको सूचनामा उल्लेख छ ।

त्यस्तै चार कक्षाका प्रविण भट्टले कोचिङ र परीक्षा शुल्क गरी २ हजार १ सय ९५ रुपियाँ, कक्षा चारकै सोविता गुरुङले कोचिङ र परीक्षा शुल्क वापतको ५ सय ५० रुपियाँ नतिरेको प्रध्यानाध्यापक यदुनाथ ढकालले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

पाँच कक्षामा अध्ययन गर्ने विकल गुरुङले कोचिङ शुल्कबापत ७ सय ८५ तथा कक्षा ६ का सुरेश वयलकोटीले कोचिङ शुल्क ३ हजार ८५ र परीक्षा शुल्क साथै कक्षा ६ कै भावना भट्टले २ हजार ९ सय ३५ कोचिङ र परीक्षा शुल्क नतिरेको भन्दै विद्यालयले नतिजा प्रकाशन नगरेको हो ।

‘विद्यालय व्यवस्थापन समितिको बैठक बसेर अभिभावकहरू प्रगति विवरण पनि लिन नआउने, शुल्क पनि नबुझाउनेको वार्षिक परीक्षाफल प्रकाशित गरेका थिएनौँ ।’–ढकालले भने–‘पछि अभिभावकलाई सम्झाउने भनेर हिजै (चैत २८ गते) गते फेरि व्यवस्थापन समितिको बैठक बसेर परीक्षाफल रोकिएकाहरूको प्रकाशित पनि गरेका छौँ ।’

शुल्क मिनाहा वा के गर्ने भन्ने विषयमा भने विद्यालय व्यवस्थापन समितिको बैठक बसेर टुङ्ग्याउने उनले बताए । ‘अहिले गलत काम गर्‍यौँ भन्ने महसुस पनि भएको छ,’–ढकालले भने ।


हरिराम उप्रेती