शुद्ध पिउने पानीबाट वन्चित भएको स्थानीयको गुनासो

  ०७६ माघ २७ गते

नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्र्तगत  प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ  भनि  स्पष्ट ब्यबस्था गरिएको भएपनि दिपायल सिलगढी नगरपालिका –१ बाँफी गाउँका २ सय २० घर परिवारले आफूहरु वर्षौदेखि शुद्ध पिउने पानीबाट वन्चित हुदै आएको गुनासो गरेका छन् ।

साँउद जातीको बाहुल्यता रहेको बाँफी गाउँमा वर्षातको पानी घरको छतमा जम्मा गरेर र गाग्रीमा सङ्कलन गरेर वर्षौदेखि खान बाध्य भएको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

गाउँ नजिक पानीको मुहान नभएका कारण वर्र्षौदेखि वर्षाको पानी घरको छत र  गाग्रीमा सङ्कलन गरेर पानीको समस्या टार्दै आएको स्थानीय उमेशबहादुर साउदले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो–‘छतमा जम्मा गरेको पानीमा पहिलो पदार्थ पनि पानीसँगै आउछ । शुद्ध पानी नभएका कारण पेट दुख्ने लगायतका स्वास्थ्यसम्बन्धि समस्या झेल्नु परेको छ ।’

गाउँ वरिपरि पानीका स्रोत नभएको कारण घर नजिकै पानी सङ्कलन गर्ने घैटो निर्माण गरेर वर्षातको पनी सङ्कलन गरी गुजारा चलाउँदै आएको स्थानीय हिक्मत साउदले दुखेसो पोख्नु भयो  ।

लुगा कपडा धुन दुई घण्टाको पैदल यात्रा गरेर सेती नदीमा बिहान ४ बजे नै हिडनु पर्ने वाध्यता रहेको स्थानीय ३५ वर्षीया सिता साउदले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘रातिको  समयमा आवतजावत गर्न डर लाग्छ । बाटोमा कहिलेकाही बाघभालु पनी देखिने गरेकोले पानीका कारण ज्यान समेत खतरामा राख्नु पर्ने अवस्था छ ।’

सरोकारवाला निकायसँग खानेपानीको समस्या समाधान गर्न निरन्तर प्रयास तथा हारगुहार माग्दा कसैले वास्ता नगरेको स्थानीय परूली बिकले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘गाउँघरमा सिहदरवार आएको छ भनेर नेताहरुले भाषण गरेका छन् ।तर, हामी शुद्ध पानी नपाएर मर्नु पर्ने भयो ।’

स्थानीय ४० वर्षीया कमला साउदले पानी अभावका कारण आफूहरु दुई घण्टाको दुरीमा रहेको सेती नदीबाट पानी ल्याउन बाध्य भएको बताउनु भयो ।

दिपायल सिलगढी नगरपालिकाका उपमेयर सिबराज खड्काले बाँफी गाउँमा रहेको खानेपानी समस्या समाधान गर्न नगरपालिकाले ८६ लाख १८ हजार ५ सय ३४ रुपियाँ बराबरको लागतमा खानेपानी योजना सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरेको बताउनु भयो  ।

photo20200210doti

 


बासुदेब जोशी