शुद्ध खानेपानीबाट वञ्चित भएको स्थानीयको गुनासो

  ०७६ कात्तिक २१ गते

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि मेलौली नगरपालिका–७, पञ्चेश्वर गाउँपालिका–२ महाकाली नपा–४ विनायकका स्थानीयहरूले आफूहरू शुद्ध पिउने पानीबाट वञ्चित भएको गुनासो गरेका छन् ।

 

यी वडाका गाउँहरूमा खानेपानीको चरम अभाव हुँदा स्थानीयले समस्या भोग्नुपरेको छ । पञ्चेश्वर गाउँपालिका–४ का स्थानीय पदम चन्दले दैनिक दुई घण्टा हिँडेर ल्याएको महाकाली नदीको दुषित पानी पिउनु पर्ने बाध्यता रहेको दुखेसो पोखे ।

 

‘स्वच्छ खानेपानीको अभावका कारण महाकालीको धमिलो पानी पिउन बाध्य छौँ ।’–पञ्चेश्वर गाउँपालिका–४ विनायकका प्रदीप चन्दले भने–‘त्यही पानी ल्याउनलाई पनि घण्टौँ हिड्नु पर्ने बाध्यता छ ।’

 

गाउँमा पीउने पानीको अभाव भएको वर्षौँ बितिसक्दासमेत स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

 

गाउँ नजिकका पिउने पानीका मुहान सुकेपछि विनायक र महाकालीका स्थानीयले महाकाली नदीको धमिलो पानी पिउने गरेको स्थानीय मोहन चन्दले बताए ।

 

उनले भने–‘३५ लिटरको जारमा महाकालीबाट पानी ल्याउन स्थानीय महिलाहरू झिसमिसेमै नदी किनारमा जान्छन् ।’

 

खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नु पर्ने अवस्था आएको स्थानीय हरीमाया बिकले दुखेसो पोखिन् ।

 

उनले भनिन्–‘गाउँको धारामा दैनिक १५ लिटर मात्रै पानी पाइने र त्यो पनि नियमित नआउने समस्याले हामी पीडित छौँ । हाम्रो पीडा कसले सुनिदिने ?’

 

महाकालीमा पानी भर्न जाँदा आफूहरूलाई जोखिमसमेत रहेकोले समस्या समाधानका लागि पहल गरी दिन स्थानीय नन्दा सार्कीले अनुरोध गरिन् ।

 

पानीकै अभावका कारण यस क्षेत्रमा शौचालय प्रयोगको दरमा पनि कमी आएको पञ्चेश्वर–२ महाकालीका स्थानीय दीपक चन्दले बताए ।

पञ्चेश्वर गाउँपालिका–२ र ४ मा मात्रै नभई यहाँका अधिकाङ्श ठाउँहरूमा खानेपानीको अभाव रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

 

उनले भने–‘हाम्रो गाउँपालिकाको प्रमुख समस्या भनेकै शुद्ध पानी नपाउनु हो । यसका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेका छौँ । नजिक मुहान नभएका कारण यहाँका स्थानीयको खानेपानी समस्या समाधान गर्न नसकिएको हो । अब प्रदेश र सङ्घीय सरकारलगायत विभिन्न दातृ निकायसँग महाकालीकै पानी लिफ्टिङ गरेर भएपनि समस्या समाधान गर्न लागिरहेका छौँ ।’

 

मेलौली नगरपालिकाको केन्द्रसमेत रहेको मेलौली नगरपालिका बजार क्षेत्रमा जनसङ्ख्या बृद्धि भएसँगै दैनिक २० लिटर पानीका लागि पनि घण्टौँ लाइन बस्नु पर्ने बाध्यता रहेको स्थानीय लोकराज भट्टले बताए ।

 

नगरमा पानीको समस्या पहिलादेखि नै रहेको र यसको समाधानका लागि प्रयास भइरहेको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् ।

photo20191107baitadi (1)

photo20191107baitadi (2)

photo20191107baitadi (3)


नरी बडु