शिशु हत्या घटनाका आरोपित गिरफ्तार

  ०७५ कात्तिक ३ गते

 

औरही नगरपालिकाकी आठ महिने शिशु सोनाली चौधरीको बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले भङ्गहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षीय भरत साहलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

सोनालीलाई बलात्कार गरी हत्या गरेको झण्डै २ महिना पश्चात उनको हत्यामा संलग्न रहेको आरोपमा साहलाई गिरफ्तार गरिएको हो ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेको आरोपमा साहलाई सुनसरीको इनरवास्थित भण्टाबारीबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको भङ्गहा प्रहरी चौकीमा केहि महिना अघि इञ्चार्जको रूपमा कार्यरत असई अवधलाल साह हाल भण्टावारीस्थित प्रहरी चौकीमा कार्यरत रहेको र उनकै टोलीले हत्या घटनाका आरोपित साहलाई कात्तिक ३ गते गिरफ्तार गरेको जनाइएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते साँझ आमाकै काखबाट खेल्दै गरेको बेला आरोपित साहले खेलाउन मागेर लगी बलात्कारपछि हत्या गरेर शवलाई आँप बगैँचामा फालेका थिए ।

शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो ।

त्यही फुटेजका आधारमा हत्या घटनाका आरोपित साह रहेको पहिचान भएको थियो । तर, घटना पश्चात आरोपित साह लुक्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खडकाले गिरफ्तार गरिएका आरोपितलाई सुनसरीबाट महोत्तरी ल्याउने तयारी भइरहेको बताए ।


अजयकुमार साह