शिक्षा स्वास्थ्य र खाद्य अधिकार सवालमा उम्मेदवारसँग सम्वाद

  ०७४ असार १० गते

इन्सेक नेपालगञ्जको आयोजना तथा भिजन टेलिभिजनको सहकार्यमा नेपालगञ्ज उप महानगरपालिकाका उपप्रमुखका उम्मेदारबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा असार ९ गते टेलिभिजन सम्वाद सम्पन्न भएको छ ।

सम्वादमा उममेयरका उम्मेदवार क्रमशः नेपाली काङ्ग्रेसकी उमा थापा, नेकपा एमालेकी शान्ति ढकाल र राष्ट्रिय जनमोर्चाकी माला केसी सहभागी थिए ।

Photo20170624Banke

कार्यक्रममा नेपाली काङ्ग्रेसकी उपमेयरकी उम्मेदवार उमा थापाले विकासलाई पहिलो प्राथमिकता दिँदै शिक्षा बिना विकास असम्भव रहेको बताइन् । उनले अपाङ्गता भएका, एकल महिला, पिछडिएका समुदायको क्षेत्रमा काम गर्ने बताउँदै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन् ।

नेकपा एमालेकी उम्मेदवार शान्ति ढकालले दाइजो, घरेलु हिंसा, बालविवाह, सुकमबासी समस्या, हरियाली शहर र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताइन् । त्यसैगरी राजमोकी माला केसीले पिछडिएका समुदायका महिलाको शिक्षा, स्वास्थ्य र सरसफाईलाई प्रथमिकतामा राखेको बताइन् ।

कार्यक्रममा सहभागी उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतमले नीति तथा कार्यक्रम ल्याउँदा कार्यान्वयन हुन सक्ने र स्रोत साधनले समाधान गर्न सकिने खालका योजना ल्याउनुपर्ने सुझाव दिए ।

अधिवक्ता लोकबहादुर शाहले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने बताउँदै महिला हिंसा न्यूनीकरणका एजेण्डामा केन्द्रित हुनुपर्ने बताए । उनले आमाको नामबाट नागरिकता पाउन असजिलो भएको बताउँदै कार्यान्वयनको सवालमा जोड दिनुपर्ने धारणा राखे ।

द्वन्द्वपीडित तथा एकल महिला सञ्जालकी अध्यक्ष चन्द्रकला उप्रेतीले द्वन्द्वपीडित र एकल महिलाका समस्या समाधानका लागि पहल गर्नुपर्ने बताइन् । फियानका संयोजक सुरेश गौतमले शिक्षा र रोजगारीका माध्यमबाट वञ्चित भएको विषयलाई जोडनुपर्ने बताए ।

अधिवक्ता सुनिता शर्माले जन्म दर्ता र यौन दुर्व्यवहार समस्याका रूपमा रहेको बताउँदै यी सवाललाई प्राथमिकताका साथ उम्मेदवारहरूले उठाउनु पर्ने सुझाव दिइन् ।


विनोद पाण्डे