शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै बालकहरू अनसनमा

  ०७४ असार २४ गते

लालीगुराँस बाल क्लबले शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै राजविराज नपा-७ स्थित गजेन्द्र चोकमा असार २४ गतेदेखि रिले अनसन थालेका छन् ।

शैक्षिक क्षेत्रका विविध समस्या समाधानका लागि बाल सम्मेलनले प्रमुख जिल्ला अधिकारीमार्फत ०७३ जेठ २५ गते प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापनपत्र पठाए पनि सुनुवाइ नभएपछि स्थानीय प्रशासनलाई स्मरण पत्र दिँदै अनसन थालेको बाल क्लबले जनाएको छ ।

अनसनकारीहरूले बन्द हड्तालबाट विद्यालयलाई अलग राख्नु पर्ने, पाठ्यपुस्तक समयमा उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरी मुल्य नियन्त्रण गर्नुपर्ने, शिक्षकहरूको प्रमाणपत्र चेकजाँच गर्नुपर्ने, कक्षा १२ सम्मको रजिष्ट्रेशन र परीक्षा शुल्क निःशुल्क गर्नुपर्ने, मदरसाहरूलाई अन्य सरकारी विद्यालय सरह भौतिक संरचनायुक्त बनाउनुपर्ने लगायतका माग अघि सारेका छन् ।

क्लबका अध्यक्ष १७ वर्षीय मो. जकाउल्लाहको अगुवाइमा थालिएको रिले अनसनप्रति इन्सेक सप्तरी र नागरिक समाज सप्तरीलगायत विभिन्न सङ्घसंस्थाले समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।

सात दिनसम्म रिले अनशनबाट माग पुरा नभए दोस्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरू अघि बढाइने र आमरण अनसन गरिने १६ वर्षीय चितरञ्जन दत्तले बताए ।

राजनीतिक दल र भातृ सङ्गठनहरूको बन्द हडतालले विद्यालय शान्ति क्षेत्रको प्रतिबद्धतालाई धज्जी उडाएको भन्दै १७ वर्षीय अरमान कौशरले अनसन गर्न बाध्य भएको बताए ।


मनोहरकुमार पोखरेल