शिक्षामन्त्रीलाई कालोझण्डा देखाएको आरोपमा तीनजना विद्यार्थी गिरफ्तार

  ०७५ चैत २० गते

शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले पोखरा विश्वविद्यालयमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घ आबद्ध तीनजना विद्यार्थीहरूलाई चैत २० गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय एकाई सभापति पोखरा मनपा–२६ बस्ने २१ वर्षीय फिरोज सुवेदी, नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय समन्वय समिति सचिव पोखरा मनपा–२६ बस्ने २३ वर्र्षीय विकास रानाभाट र नेपाल विद्यार्थी सङ्घ कास्की जिल्ला नेता पोखरा मनपा–३२ पावरहाउस बस्ने २८ वर्षीय प्रताप बानिया रहेका छन् ।

पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन आएका मन्त्री पोखरेललाई विश्वविद्यालय गेट अगाडी कालो झण्डा देखाएपछि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, सिसुवाले जनाएको छ ।

गिरफ्तार गरिएका विद्यार्थीलाई अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्र गुरूङले बताए ।

नेपाल विद्यार्थी सङ्घ कास्कीले भने पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै कालो झण्डा देखाइएको जनाएको छ ।


सुशन घिमिरे