शिक्षक सेवा आयोगबाट सिफारिस भएका स्थायी शिक्षकलाई विद्यालयमा हाजिर नगराईएको गुनासो

  ०७६ पुस १३ गते

सिमकोट गाउँपालिका–७ मा रहेको कर्णाली माध्यामिक विद्यालयमा विवादका कारण शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकलाई विद्यालयमा हाजिर हुन नदिएको पीडित शिक्षकले गुनासो गर्नुभएको छ ।
जुनियर शिक्षकलाई राखेर सिनियर शिक्षकलाई पदबाट अवकास गराउन खोजेको भन्दै शिक्षक सेवाबाट सिफारिस भएका शिक्षकलाई विद्यालयमा हाजिर गर्न नदिएको शिक्षक ऐरले बताउनुभयो ।
सिमकोट गाउँपालिकाले मङ्सिर २२ गतेको परिपत्र अनुसार सो विद्यालयमा पठाइएका शिक्षक रामबहादुर ऐर विद्यालयमा पुगे पनि हालसम्म पनि हाजिर गर्न नदिईएको गुनासो गर्नुभएको हो ।
नेपाल सरकारले अपाङ्गता भएका र महिला शिक्षक शिक्षिकाहरूलाई सदरमुकाम नजिकै अर्थात पायक पर्ने ठाउँका विद्यालयहरूमा पठाउने प्रावधान रहेको भए पनि सिमकोट गाउँपालिकाले भने एक दृष्टिविहीन शिक्षक रामबहादुर ऐरलाई सदरमुकाम सिमकोटबाट करिब ४ घण्टाको बाटो हिँड्नु पर्ने विद्यालयमा पठाएको शिक्षक ऐरको गुनासो रहेको छ ।
उता सरूवा गरिएको विद्यालयमा पनि शिक्षक ऐरलाई हाजिर समेत गर्न नदिई आफ्नो नजिकको व्यक्तिलाई सो पदमा अस्थायी रूपमा राखेर आफुलाई हाजिर गर्न नदिएको शिक्षक ऐरले दुखेसो गर्नुभयो ।
भौगोलिक रूपमा टाढा रहेको र विद्यालयमा हाजिर गर्न नदिईएको भन्दै मङ्सिर २८ गते सिमकोट गाउँपालिकामा आफुले जानकारी गराएको भएपनि आफ्नो विषयमा सुनुवाई नभएको शिक्षक ऐरले बताउनुभयो ।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले शिक्षक ऐरको शारिरीक अवस्थाका बारेमा जानकारी नभएकोले सो समस्या भएको बताउँदै शिक्षकलाई सदरमुकाममै कार्यक्षेत्रका लागि व्यवस्था गाउँपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


नन्द सिंह