शिक्षक सरूवाको विषयलाई लिएर नगरपालिकामा तोडफोड

  ०७६ असोज १० गते

शिक्षक सरूवाको विषयलाई लिएर कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूको एक समूहले असोज १० गते तोडफोड गरेका छन् ।

कटहरिया नगर कार्यपालिकाको असोज ९ गते बसेको बैठकले नगर अन्तर्गतका एक जना प्रध्यानाध्यापक सहित नौ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।

ठुलो सङ्ख्यामा आएका विद्यार्थीहरूको समूहले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी १० ओटाभन्दा बढी कम्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी उक्त समूहले ५० ओटाभन्दा बढी कुर्सी, दराज, सिसिटिाभी क्यामरा, झ्याल, ढोकालगायतमा  तोडफोड गरी क्षति पु¥याएको छ ।

विद्यार्थीहरूले ढुङ्गामुढा प्रहार गरेर नगरपालिकाको एसी र नयाँ भवनको सिसाको ५० ओटा झ्याल पनि कामै नलाग्ने गरी फुटाएका छन् ।

शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूले तोडफोड गरेको भनिएपनि नगर प्रमुख शियाराम कुशवाहाले सरूवा भएका केही शिक्षकले नै योजना बनाएर सुनियोजित तरिकाले नगरपालिकामा तोडफोड गर्नुका साथै लुटपाट समेत गरेको बताए ।

सरूवा गरिएका केही शिक्षकले नै विद्यार्थीको रूपमा आफ्ना नातागोता र आफन्तीलाई प्रयोग गरी गुण्डागर्दी शौलीमा एकाबिहानै दर्जनौँको सङ्ख्यामा नगरपालिकामा आएर तोडफोड गर्दै करौडौँको क्षति पुर्‍याएको मेयर शियाराम कुशवाहाले बताए ।

रौटहट क्षेत्र न.३ (ख) का प्रदेश सांसद कुन्दन कुशवाहाले मावि भसेढवाका प्रधानाध्यापक राममङ्गल प्रसाद यादव र शिक्षक सचिन्द्रप्रसाद यादवका कारण नगरपालिकामा यस्तो घटना घटेको आरोप लगाएका छन् ।

सरूवा गरिएको ठाउँमा नजाने मनसायले प्रधानाध्यापक यादव र शिक्षक सचिन्द्रले सुनियोजित र योजनाबद्ध तरिकाले नगरपालिकामा आफ्ना मान्छेलाई विद्यार्थीको रूपमा प्रयोग गरेर आक्रमण गरेको प्रदेश सांसद कुशवाहाले दावी गरेका छन् ।


कोपिला तिमल्सिना