शिक्षक नहुँदा विद्यार्थीको पढाइमा समस्या

  ०७६ मङ्सिर ४ गते

इलामका धेरै विद्यालयमा विज्ञान र गणित विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइमै समस्या भएको छ । सरकारले शिक्षकलाई अध्यापन अनुमति पत्र अनिवार्य गराएपछि गणित र विज्ञान विषयका शिक्षक अभाव भएको हो ।

शिक्षक अभाव भएपछि विद्यालयमा पठनपाठन गराउनै समस्या भएको सन्दकपुर गाउँपालिकाका शिक्षा विभाग प्रमुख टीका निरौलाले बताए ।

‘हाम्रो गाउँपालिका भित्र ६ ओटा मावि र २१ आधारभूत विद्यालय छन् ।’–निरौलाले भने–‘कतिपयमा भएका आइएससी शिक्षकले माविलाई पनि पढाउँदै छन् । आइएससी पनि नभएकामा विद्यालयले अस्थायी र करारमा शिक्षक राखेर पढाउँदै छन् ।’

धेरै विद्यालयमा मावि दरबन्दी पनि नभएको र आधारभूत विद्यालयको पनि अवस्था उही भएको निरौला बताउँछन् ।

यहाँका भगवती मावि जमुना, श्याम्बल मावि माइमझुवा, प्रवोध मावि माबु, माइपोखरी संस्कृत मावि, आदरणीय मावि, चन्द्रोदय आधारभूत विद्यालय लगायतमा बिएससी र आइएससी दुवै शिक्षकको अभाव भएको निरौलाले जानकारी दिए ।

अन्य शिक्षकले दुःखले कक्षा सञ्चालन गरेपनि यहाँका विद्यार्थी सदरमुकाम गएर गणित र विज्ञानको ट्युसन पढ्न बाध्य हुनुपरेको निरौला बताउँछन् ।

गणित, विज्ञान विषयका शिक्षक माग गरेपनि शिक्षक नै नआउने हुँदा समस्या भएको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

‘दक्ष जनशक्ति अहिले पनि गाउँमा छ ।’–राईले भने–‘उनीहरूलाई काम लगाउन पाइएको छैन । सरकारले शिक्षासम्बन्धी नीति र कार्यक्रम परिमार्जित नहुने हो भने गणित र विज्ञान विषय नै बन्द गरिदिए हुन्छ ।’

शैक्षिक सत्र सुरू भएको सात महिना बितिसक्दा पनि ती विद्यालयमा गणित र विज्ञानको पठनपाठन विद्यार्थीको सिकाइमा असरमात्र नभएर नियमित नहुँदा कोर्ष सक्न समेत कठिनाइ हुने भएको अध्यक्ष राईको भनाइ छ ।


कोकिला ढकाल