शिक्षक नहुँदा दुई महिनादेखि पठनपाठन प्रभावित

  ०७६ भदौ २३ गते

सिद्धकुमाख गाउँपालिका-३ कुइयाँझोलमा रहेको देउराली माध्यामिक विद्यालयमा गणित शिक्षक नहुँदा दुई महिनादेखि कक्षा नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

विगत दुई महिनादेखि गणित शिक्षक नभएको र शिक्षक राख्न भन्दै विद्यालय प्रशासनलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यार्थी वेदबहादुर बोहराले बताए ।

बोहराले गणित शिक्षक नहुँदा कक्षा ७ देखि १० सम्मको गणित विषय र अन्य कक्षामा सामाजिक तथा कम्प्युटर विषय पढ्नबाट विद्यार्थी वञ्चित भएको जानकारी दिए ।

यसअघि गणित विषय पढाउँदै आएका शिक्षकको सरूवा भएयता विद्यालयमा नयाँ शिक्षक नआएका कारण आफूहरू सम्बन्धित विषय पढ्नबाट वञ्चित भएको विद्यार्थीहरूको गुनासो रहेको छ ।

स्थायी रूपमा दरबन्दी भएका शिक्षक टोपबहादुर भण्डारी गत असार ६ गते सरूवा भएर गएका थिए । उनको सट्टामा अहिलेसम्म शिक्षक नहुँदा विद्यार्थीको मुख्य गणित विषयको कुनै पनि कोर्स अगाडि बढ्न नसकेको विद्यार्थी भुमा बस्नेतले बताइन् ।

शिक्षक राख्नु पर्‍यो भनेर विद्यालय प्रशासनमा पटकपटक लिखित कागज पेश गरेपनि सुनुवाइ नभएको बताउँदै बस्नेतले नयाँ शिक्षकको तुरून्त व्यवस्था गर्नुपर्ने विद्यार्थीको माग रहेको बताइन् ।

विद्यालयका प्रधानाध्यापक मोतिराम बुढाथोकीले विद्यालयमा स्थायी दरबन्दी रहेको र केन्द्रबाट स्थायी शिक्षक नै पठाउने प्रक्रिया रहेकाले नयाँ शिक्षक आउन ढिला भएको बताए ।

विद्यालयले आन्तरिक श्रोतबाट शिक्षक राख्न खोज्दा शिक्षा समन्वय एकाईले १५ दिन भित्रै शिक्षक पठाउँछौ भनेपछि आफूहरूले विज्ञापन नगरेकाले पठनपाठन रोकिएको प्रधानाध्यापक बुढाथोकीले स्वीकार गरे । बुढाथोकीले व्यवस्थापन समितिको बैठकमार्फत आन्तरिक शिक्षक राख्नेबारे छलफल गर्ने बताए ।

लामो समयदेखि शिक्षकको व्यवस्था नगरेको भन्दै सो को विरोधमा विद्यार्थीहरूले भदौ १८ र १९ गते विद्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

भदौ १९ गते विद्यालय व्यवस्थापन समिति, विद्यार्थी तथा अभिभावकबीचको बैठकमा आगामी एकसाताभित्रै विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने सहमति भएपछि भदौ २० गतेबाट कक्षा सुचारू भएको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए ।


मिना बुढाथोकी