शिक्षक नहुँदा चार महिनादेखि पठनपाठन प्रभावित

  ०७६ साउन १९ गते

पातारासी गाउँपालिका स्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका एच्छिक गणित विषयका शिक्षक लामो समयसम्म नआएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।

 

विदा नै स्वीकृत नगराई वैशाख महिनाको पहिलो साता मौखिक रूपमा घर जान्छु भनी गएका सिलोवा पाहावरी–३ सिराहका अमरनाथ शाह विद्यालयमा नआएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।

 

उनले ९–१२ कक्षामा ऐच्छिक गणित विषय पढाउने गरेका थिए । ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका प्रधानाध्यापक हरिबहादुर बुढाका अनुसार घर जान्छु भनी गएका शिक्षक अमरनाथ शाह नआएपछि वैशाख महिनादेखि बालबालिकाको पढाई प्रभावित भएको छ ।

 

उनले भने–‘अमर सरलाई विद्यालयमा आउन पटकपटक अनुरोध गर्‍यौँ । तर अहिलेसम्म आउनुभएको छैन । आउन्न पनि भन्नु भएको छैन ।’

 

स्थानीय रेविका सुनारले भनिन्–‘समयमा पठनपाठन नभएपछि कसरी उत्तीर्ण हुन्छन् हाम्रा बालबालिका ?’

 

चार शिक्षकको दरबन्दी रिक्त

ऋणमोक्ष माध्यामिक विद्यालय डिल्लीचौरमा चार जना शिक्षक दरबन्दी रिक्त रहेको जनाएको छ । शिक्षक दरबन्दी अनुसार १७ जना हुनुपर्नेमा अहिले १३ जना मात्र रहेको प्रधानाध्यापक हरिबहादुर बुढाले बताए ।

 

प्राविमा पाँच जना, निमाविमा तीन जना, माविमा पाँच जना र उमाविमा चार जना गरी १७ जनाको शिक्षक दरबन्दी हो ।

 

अहिले सामाजिक, गणित, अङ्ग्रेजी र ऐच्छिक गणित विषयका शिक्षक दरबन्दी रिक्त रहेको उनले बताए । शिक्षक नभएका कारण अहिले चार ओटै विषयको पढाई प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ ।

 

सट्टा शिक्षक खारेजीपछि पढाइ भएन

ऋणमोक्ष माध्यमिक विद्यालयमा सामाजिक विषय पठानपाठन गर्दै आएका शिक्षक कमलबहादुर शाहीले सट्टा शिक्षक राखेर स्रोत व्यक्तिका रूपमा काम गर्दै आएका छन् ।

 

उनी अहिले काजमा चन्दननाथ नगरपालिकाको शिक्षा शाखामा काम गर्दै आएको प्रधानाध्यापक हरिबहादुर बुढाले बताए ।

 

सरकारले फागुन महिनादेखि सट्टा शिक्षक खारेज गरेपछि कमलबहादुर शाहीको सट्टामा पढाउँदै आएका शिक्षक.नन्दबहादुर बुढा अहिले प्राविमा पढाउने गरेको उनले बताए ।

 

९ र १० कक्षाको सामाजिक विषय पनि फागुन महिनादेखि पढाइ नभएको उनले बताए । विद्यालयमा सामाजिक विषयको पठनपाठन प्रभावित भएपछि काज फिर्ताका लागि चन्दननाथ नगरपालिकामा पत्रचार गर्दा पनि नगरपालिकाले सुनुवाइ नगरेको विद्यालयले जनाएको छ ।


मानदत्त रावल