शिक्षक कुटपिटको घटना कान समातेर उठबस पछि मिलापत्र

  ०७४ पुस १३ गते

जिल्लाको पुरचौडी नगरपालिका-८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपिट गरी घाइते बनाएको आरोपमा स्थानीय विरसिंह साउदलाई गाँउलेहरूको उपस्थितिमा कान समातेर उठबस गराएपछि पुस ११ गते मिलापत्र भएको छ ।

गत मङ्सिर २७ गते विद्यालयबाट घर फर्कदैँ गरेका शिक्षकमाथि कुटपिट गरेको स्वीकार गरेपछि विरसिंहलाई वडा कार्यालयमा कान समातेर उठबस गराएपछि घटना मिलापत्र भएको वडा अध्यक्ष जनक विष्टले बताए ।

घाइते शिक्षक कैलालीको घनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गरी फर्केपछि घटना मिलापत्र भएको हो । पुरचौडी नगरपालिका-८ का करिब १ सय ५० जनाको उपस्थितिमा दण्ड स्वरूप आरोपितलार्इ तीन चोटी कान समातेर उठबस गराइएको हो ।

स्थानीय प्रहरी चौकीले दुई हप्ता अघिदेखि मिलाउन नसकेको उक्त घटना वडा अध्यक्ष जनक विष्टले दुबै पक्षको सहमति अनुसार नै कान समातेर उठबस गराउँदै टुङ्ग्याएको बताएका छन् ।

पुरचौडी नगरपालिका-१० स्थित गलेश्वर माविका शिक्षक साउदले घर फर्कदैँ गर्दा बाटो ढुकेर बसेका विरसिंह साउदले कुटपिट गरेको भन्दै स्थानीय पुरघाट प्रहरी चौकीमा मङ्सिर २८ गते उजुरी दिएका थिए ।

धनगढी गएर उपचार गराएको रू ३५ हजार रकम तिर्न सोमबार पुरघाट चौकीमा दुवै पक्ष बसेर सहमतिको प्रयास गरेपनि सफल हुन नसक्दा पीडित पक्षले इलाका प्रहरी कार्यालय पाटन आउने तयारी गरेको थियो ।

वडा कार्यालय र पीडितले उपचारमा लागेको ३५ हजार तिर्ने अथवा पाँच चोटी कान समातेर उठबस गर्ने विकल्प दिएपछि कुटपिट गर्ने साउदले स्थानीयको अगाडि कान समातेर उठबस गरेका हुन् ।


नरी बडु