शिक्षक अभावले पढाइ प्रभावित, बाल अधिकार चेतना समूहद्वारा शिक्षकको माग

  ०७६ कात्तिक २६ गते

जिल्लाको पाटन नगरपालिकास्थित शिद्देश्वर माध्यमिक विद्यालयमा गठित बालअधिकार चेतना समूहले शिक्षकको माग गरेका छन् ।

कक्षा १० सम्मको पढाइ हुने उक्त विद्यालयमा शिक्षक अभावले पढाइ प्रभावित भएको भन्दै सो समूहले शिक्षकको माग गरेको हो ।

कात्तिक २४ गते बसेको चेतना समूहको बैठकले यस्तो निर्णय गरेको चेतना समूहका अध्यक्ष विनोद महाराले बताए ।

महराले भने–‘शिक्षक नहुँदा आफूहरुको पढाइ प्रभावित भएपछि समूहको पहिलो बैठकमा हामीले पाटन नगरपालिकासँग शिक्षकको माग गर्ने निर्णय गरेका छौँ ।’

इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले शिक्षकको व्यवस्थाका लागि नगरपालिकासँग माग गरेको परियोजनाका जिल्ला सहजकर्ता निशा भट्टले बताइन् ।

शिक्षक अभावका कारण विद्यार्थीहरूले कक्षा १ मा पढ्दादेखिनै गणित, अङ्ग्रेजी र विज्ञान विषयका शिक्षकको अभाव झेलिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।

भाटले भने–‘हाम्रो विद्यालयमा बर्सेनीे शिक्षक खोजेर अभिभावकले चन्दा उठाएर पठनपाठन गर्नुपर्ने अवस्था छ । माविसम्मको विद्यालयमा जम्मा तीन जना मात्रै स्थायी शिक्षक छन् ।’

शिक्षकको अभाव भएपछि शिद्देश्वर माविका विद्यार्थीहरूले विद्यालयमै मैनवत्ति उत्पादन गरेर निजी श्रोतका शिक्षकहरूलाई तलब खुवाइरहेका छन् ।

‘सरकारले आफूहरूको पढाइप्रति बेवास्ता गरेकाले मैनवत्ति उत्पादन गरेर शिक्षकको तलब खुवाइरहेका छौँ ।’–कक्षा १० की छात्रा पुष्पा महराले भनिन् ।

प्रत्येक माविमा एक–एक जना गणित पढाउने शिक्षकको दरबन्दी हुनु पर्नेमा जिल्लाभर ६१ जना मात्रै गणित पढाउने शिक्षक छन् । ती मध्ये २३ जना स्थायी दरबन्दी र ३८ जना राहत अनुदानका शिक्षक हुन् ।

जिल्लामा प्राथमिक विद्यालय ३ सय १७, निम्नमाध्यमिक १ सय १ र माध्यमिक १ सय २० गरी कुल ५ सय ३८ विद्यालय छन् । ५ सय ३८ विद्यालयमा २ हजार ४ सय ८९ शिक्षकले अध्यापन गराइरहेका छन् ।


नरी बडु