शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो

  ०७७ माघ ७ गते

सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् ।

राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा भान्सेको दरबन्दी भएपनि पढाउँदै आउनु भएकी वर्षा दाहालले अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था नभएको र दरबन्दीअनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको बताउनु भयो ।

अपाङ्गता भएका बालबालिकालाई पढाउन बढी मेहनत लाग्ने गरेपनि तलब भने तीन महिनामा मात्र आउने गरेको गुनासो गर्नुहुँदै प्रधानाध्यापक शत्रुघ्नप्रसाद यादवले वातावरण र अवसर पाउने हरेक अपाङ्गता भएका बालबालिका सक्षम बन्ने विश्वास दिलाउनु भयो ।

यसैगरी करारमा नियुक्त शिक्षक ज्ञानु सापकोटा र चाँदनी यादवले थोरै सङ्ख्यामा रहेका शिक्षकहरूलाई समेत बेलाबेलामा तालिमको व्यवस्था नभएकाले परम्परागत रूपमै शिक्षणशैली चलेको बताउनु भयो ।

शिक्षक तालिम प्राप्त नभए सिकारुले सिक्ने विषयवस्तु प्रभावकारी नहुने भन्दै राजविराज नगरपालिका ६ का वडा अध्यक्ष प्रेमकुमार यादवले नयाँनयाँ सिकाइ प्रविधिको प्रयोग र विद्यार्थीको कठिनाइ अनुरूप शिक्षण गर्न शिक्षकलाई दक्ष बनाउनु पर्ने आवश्यक्तामा जोड दिनु भयो ।

परिवार र समाजबाटै अपाङ्गता भएका बालबालिकालाई अवसरबाट वञ्चित गरिने विभेदयुक्त व्यवहार हुने गरेकोमा विद्यार्थीहरूले दुःखेसो पोखे ।

यस विषयमा अभिभावक र नागरिक समाजसँग अन्तरक्रिया गरेर विभेद गरिने पुरातन सामाजिक मान्यतामा परिवर्तन ल्याउन उनीहरूले आग्रह गरे ।

स्रोत कक्षातर्फ राजविराज नपा–५ स्थित पब्लिक बिन्देश्वरी माविस्थित दृष्टिविहीन स्रोत कक्षामा आठ जना दृष्टिविहीन विद्यार्थीहरू र विशेष शिक्षा सञ्चालन भएको राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा ३८ जना सुस्त श्रवण विद्यार्थीहरू अध्ययनरत छन् ।

यसैबिच इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र शिक्षा विकास तथा समन्वय इकाइले माघ ४ गते अपाङ्गता भएका बालबालिका अध्ययनरत राजविराजस्थित दुई विद्यालयको अनुगमन निरीक्षण गर्दा विद्यालयमा दरबन्दीअनुसार शिक्षक नरहेको, विद्यार्थीहरू कक्षामा अनियमित रहेको, भवनको संरचना जीर्ण बन्दै गएको, बेञ्च–डेस्क, मनोरञ्जन र खेलकुदका सामग्री अभाव रहेको पाइएको आयोगकी मानव अधिकार अधिकृत रेखा दत्तले बताउनु भयो ।

बहिरा बालक विद्यालमा सात जना शिक्षकको दरबन्दी रहेकोमा एक जना स्थायी र दुई जना करारका शिक्षक छन् भने कार्यालय सहयोगीको दरबन्दी समेत रिक्त रहेको छ ।

संविधानको धारा ३१ मा शिक्षासम्बन्धी मौलिक हकको व्यवस्था गर्दै अपाङ्ता भएका नागरिकलाई निःशुल्क उच्च शिक्षा, दृष्टिविहीन नागरिकलाई ब्रेललिपी तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा पाउने हक हुने उल्लेख गरिएको छ ।


मनोहरकुमार पोखरेल