शिक्षकको हत्या गरेकाे आराेपमा जन्मकैदको फैसला

  ०७६ माघ ३ गते

हेटौँडा उपमहानगरपालिका-११ घर भइबुद्ध माविमा कार्यरत ३८ वर्षीय शिक्षक मनोहर ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका- ११ का १९ वर्षीय प्रविण वाइवा र २० वर्षीय अनमोल पुडासैनीलाईजन्मकैद र डाँका मुद्धामा ३९ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठको माघ २ गते बसेको इजलासले यस्तो फैसला गरेको अदालतका श्रेस्तेदार केशवराज कौशिकले बताउनुभयो । यस्तै अदालतले दुवै जनालाई ७० हजार रुपियाँ  जरिबाना भराउन समेत आदेश दिएको उहाँले बताउनुभयो । शिक्षक ढकालको ०७५ पुस २५ गते  हेटौँडा उपमहानगरपालिका-१ भैरवडाँडा स्थित जङ्गलमा हत्या गरिएको थियो ।

हत्या गरेर ढकालसँगभएको सुनको औंठी, मोबाइल, हार्डड्राइभलगायतका वस्तु लुटेको आरोप थियो । ढकालको लुटिएको औंठी खरीद गर्ने हेटौंडा उमहानगरपालिका–२ का नारायणबहादुर सुनारलाई अदालतले २५ हजार रुपियाँ र सुन पसल देखाइदिने ठाकुर भुषाललाई मतियरको रूपमा १० हजार रुपियाँजरिबाना गरेको छ । अदालतले लुटिएको मोबाइल खरीद गर्ने भीमफेदी  गाउँपालिका-६ का दिनेश थापालाई सफाइ दिएको छ । पुडासैनी र वाइवाले ढकाललाई मोटरसाइलबाट लडाएर कन्चटमा ढुङ्गाले हिर्काएर हत्या गरेको प्रहरीले जनाउँदै आएको थियो ।

लागुऔषध खान हुन्न भनी हप्काएकोले रिस उठेको र हातमा औंठी देखेपछि लुट्ने मनसायले हत्या गरेको पुडासैनी र वाइवाले अदालतमा बयान दिएको प्रहरीको भनाइ छ ।


पुष्पराज अधिकारी