शिक्षकको व्यवस्था नहुँदा पठनपाठन प्रभावित

  ०७६ भदौ २४ गते

चौविसे गाँउपालिका-३ स्थित कुरूलेतेनुपा माध्यमिक विद्यालयको कक्षा ९ र १० मा पढाउने विज्ञान विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ भने यहाँका विद्यार्थी भदौ ३ गतेदेखि प्राङ्गणमा दैनिक धर्ना दिँदै आएका छन् ।

वैशाखमा शैक्षिक सत्र सुरू भएयता कक्षा ९ र १० मा विज्ञान विषयको पठनपाठन अहिलेसम्म पनि सुचारू हुन सकेको छैन ।

विज्ञान विषयको शिक्षक नहुँदा पठनपाठन सुचारू नभएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय प्रशासनले भदौ १ गतेदेखि शिक्षकको व्यवस्था गर्ने जानकारी गराएपनि भदौ २३ गतेससम्म पनि शिक्षकको व्यवस्था हुन सकेको छैन ।

कक्षा १० मा अध्ययनरत शैलेन्द्र तामाङले भने-'विद्यालयको समस्या हामीलाई थाहा छ । विद्यालयले शिक्षकको व्यवस्था गर्ने वाचा गर्ने तर कार्यान्वयनमा उतिसारो चासो नदिँदा हामी बाध्य भएर दैनिक धर्नामा उत्रिएका हौँ ।'

सो विद्यालयमा मावि तहको विज्ञान विषयको दरबन्दी रिक्त भएको दुई वर्षबितेको छ । भौगोलिक अवस्थाले विकट मानिने क्षेत्रमा दरबन्दीका शिक्षक आएपनि सरूवा मिलान गरी जाने भएकाले विद्यालयमा विज्ञान विषयको शिक्षक सधैँ अभाव हुने गरेको छ ।

शैक्षिक सत्रको आधा समय बित्न लागि सक्दा पनि विद्यालयले शिक्षकको व्यवस्था नगर्दा आन्दोलन गर्न परेको विद्यालयमा गठित बाल क्बल र जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूको भनाई छ ।

कक्षा ९ र १० का गरी ६५ जना विद्यार्थीले दैनिक धर्ना दिएपनि निजी स्रोतमै भएपनि शिक्षकको व्यवस्था गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक वीरबहादुर बाजीले बताए ।

उनले भने-'शिक्षा नियमावलीले निजी स्रोतमा शिक्षक राख्दा शिक्षक अनुमतिपत्र भएको हुनुपर्ने व्यवस्था गरेको छ । लाइसेन्स भएका शिक्षकलाई निजी विद्यालयले आकर्षक सुविधा दिन्छन् । त्यसैले शिक्षकको अभाव छ ।'

विद्यालयमा निमावितर्फ आइएस्सी विज्ञानतर्फ कार्यरत शिक्षक पनि आन्तरिक परीक्षामा अनुतीर्ण भएपछि ६ महिनादेखि सो दरबन्दी पनि रिक्त छ ।

विद्यार्थीको समस्या मात्र नभएर विद्यालयकै समस्या भएपनि शिक्षक नियुक्ती गरी पठाई सुचारू गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । अध्यक्ष राईले तत्कालै वैकल्पिक उपाय अवलम्वन गरी पठाई सुचारू गर्ने बताएका छन् ।


ईश्वर थापा