शिक्षकको घरमा आगजनी गरेको घटनाका आरोपित गिरफ्तार

  ०७४ असोज २३ गते

शिवनाथ गाँउपालिका-६ कनालीका दलित शिक्षक करन रानाको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ ।

असोज ७ गते (शनिबार) राति रानाको घरमा आगजनी र तोडफोड गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अनुसन्धानमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै प्रहरीले आरोपितको नाम भने सार्वजनिक गरेको छैन ।

गाउँकै विद्यालयमा करार दरबन्दीमा काम गरिरहेका शिक्षक रानालाई गैरदलित परिवारकी छात्राको विवाह दलित केटासँग गराइदिएको आरोपमा ६ महिनाअघि स्थानीयले विस्थापित गराएका थिए । गाँउमा आए मारिदिने धम्की दिएपछि शिक्षक करन रानाको परिवार अहिले पनि विस्थापित छ ।

पीडित रानाले असोज १० गते आरोपितहरू विरूद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएका थिए ।

तीन वर्षअघि बनाएको एक तलाको २ कोठे भवन जलेर नष्ट भएको पीडितले बताएका छन् । उनले घरमा रहेका अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको भन्दै ३० लाख ५३ हजार बिगोसमेत माग गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका असई करन धामीले बताए । उक्त घटनाका बारेमा सत्य तथ्य बुझ्न इन्सेकले पनि स्थलगत अुनगमन गरेको थियो ।


नरी बडु