शिक्षकको कुटपिटबाट छात्रको मृत्यु भएको पीडित पक्षको आरोप

  ०७५ साउन ८ गते

गौरीशङ्कर गाउँपालिका-१ जुगुका ६ वर्षीय सुदिप बस्नेतको गौरीशङ्कर बोर्डिङ स्कूलका गणित शिक्षक दावा शेर्पाको कुटपिटबाट साउन ६ गते मृत्यु भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यायमा सोही दिन उजुरी दिएको छ ।

भीमेश्वर नपा-३ चरिकोटस्थित गौरीशङ्कर बोर्डिङ स्कूलमा युकेजिमा अध्ययनरत सुदिपलाई शिक्षक शेर्पाले जेठ २९ र ३० गते कक्षा कोठामा नै यातना दिएको पीडित पक्षको आरोप छ ।

घटनाको तीन दिनपछि बालकलाई कपडा फेरिदिन खोज्दा बालकको जिउमा निलडाम देखिएपछि शिक्षकको कुटाइको निलडाम रहेको बालकले बताएका थिए ।

यातना पीडित बालकलाई तत्काल दोलखा सामुदायिक अस्पतालमा तीन दिन, च्छोरोल्पा अस्पतालमा एक दिन र प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गर्दा कुनै रोग पत्ता नलागी घर लगिएको थियो ।

बालकको अवस्था झन् गम्भीर बन्दै गएपछि गत असार १६ गते चरिकोट ल्याइ हेलिकप्टर मार्फत ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

नौ दिन ग्राण्डी अस्पतालमा राख्दा समेत कुनै सुधार नआएपछि काठमाडौँका अन्य अस्पालतमा समेत उपचार गर्दासमेत रोग पत्ता नलागेपछि साउन १ गते कान्ति बाल अस्पताल भर्ना गरिएकोमा उपचारको क्रममा बालकको साउन ६ गते मृत्यु भएको हो ।

पीडित परिवारले कारबाहीको माग राखी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि साउन ६ गते नै आरोपित शिक्षक शेर्पालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

बोर्डिङ स्कूलका प्रिन्सिपल सुर्यकृष्ण श्रेष्ठले शिक्षकको कुटाइको कारणबाट मात्र बालकको मृत्यु नभएको बताए ।


उद्धव पोखरेल