शान्ति स्थापना गर्न कानुनी शासन तथा मानव अधिकारको संरक्षण र प्रवर्धनमा जोड

  ०७५ असोज ५ गते

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा सिरहामा असोज ५ गते आयोजित अन्तरक्रियात्मक सम्वाद कार्यक्रमका सहभागिहरूले शान्तिको लागि कानुनी शासन र मानव अधिकारको संरक्षण र प्रवर्धनमा जोड दिनुपर्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल, मुक्ति नेपाल, मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल) र महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागिहरूले देशमा शान्ति स्थापना गर्न कानुनी शासन र मानव अधिकारको संरक्षण र प्रवर्धन गर्नु आवश्यक रहेकामा जोड दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले शान्तिका लागि समाज परिवर्तन हुन आवश्यक रहेको बताए । सिरहा जिल्लामा शान्ति कायम राख्न जुनसुकै अपराधमा सम्झौता नगर्ने र मानव अधिकारको संरक्षणमा जोड दिने बताए ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढामगरले शान्ति नभए न्याय नहुने र न्याय नभए मानव अधिकार दिगो हुन नसक्ने बताए । ‘जहाँ न्याय हुँदैन । त्यहाँ शान्ति नहुने हुनाले शान्तिको लागि सबैको सहयोग आवश्यक छ ।’–उनले भने ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका एसपी जीवनकुमार श्रेष्ठले जिल्लामा शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी सक्रिय रहेको बताउँदै शान्ति कायम राख्न सही सूचना र प्रहरीसँग सहकार्य सबैले गर्नुपर्ने बताए । घटना घटनु भन्दा पनि घटना घट्नै नदिन सबै सङ्घसंस्थाहरूसँग सहकार्य गरी अगाडि बढेको बताए ।

कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले भने–‘तब मात्रै शान्ति सम्भव छ जब अपराध मुक्त समाज बन्छ ।’ मुलुकमा कानुनी शासन भए पीडितहरूले न्याय पाउने र शान्तिको शान्तिको अनुभव गर्ने उनले उल्लेख गरे ।

इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई अभिलेखन गरेर मानव अधिकारको अवस्था उजागर गरी राज्यको ध्यानाकर्षण गराउन सफल भएको बताए ।

कार्यक्रममा मानव अधिकार संरक्षण केन्द्र सञ्जालका संयोजक सुनिल साहले जिल्लाको शान्ति सुरक्षाको अवस्था र अगामी दिनमा शान्ति स्थापनाको लागि गर्नु पर्ने कामको सुझावसहित प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा पुग्ने गरी ज्ञापन पत्र बुझाएका थिए ।

कार्यक्रममा मानव अधिकारकर्मीहरू, महिला अधिकारकर्मीहरू, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो भने सरगम एफएम र रेडियो समग्रले कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेका थिए ।


दुर्गा परियार