शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात-इन्सेक

  ०७७ मङ्सिर ६ गते

शान्ति सम्झौताका १४ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय नपाएको विषयलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले द्वन्द्वपीडितमाथि भएको कुठाराघातका रुपमा चित्रण गरेको छ ।

तत्कालीन विद्रोही नेकपा माओवादी र नेपाल सरकारका बिचमा २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा मङ्सिर ६ गते जारी विज्ञप्तिमा सो कुरा चित्रण गरिएको हो ।

'द्वन्द्वपीडित र यसबाट प्रभावित व्यक्तिहरूका सरोकार र उनीहरूमाथि भएको अन्याय निरूपणका लागि गरिनुपर्ने अर्थपूर्ण पहलकदमीका रुपमा तत्कालिन विद्रोही पक्ष र नेपाल सरकारबाट यसको निरुपणका लागि गठन गरिएका सङ्क्रमणकालीन न्यायसम्बन्धी संरचना प्रभावकारी हुन नसक्नुलाई दुःखद् पक्षका रुपमा लिनु पर्दछ ।'-विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उठाइएका मुख्य बुँदाहरू

  • सत्यको खोजी, न्यायको सुनिश्चितता, परिपूरणको व्यवस्था र संरचनागत सुधारमार्फत द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितहरूको न्यायको सरोकारहरुलाई सम्बोधन गर्न ठोस पहलकदमी हुन नसक्नु विस्तृत शान्ति सम्झौता कार्यान्वयनको प्रमुख चुनौतीको रुपमा देखिएको हामीले महसुश गरेका छौँ ।
  • सङ्क्रमणकालीन न्यायिक संरचनाहरूमा न्यायको माग गरी करिब ६३ हजार द्वन्द्वपीडितले उजुरी दर्ता गरेका छन् । इन्सेकले तयार गरेको द्वन्द्वपीडित पाश्र्वचित्रमा हत्याका घटना १३ हजार २ सय ४८ र बलपुर्वक बेपत्ता पारिएका ९ सय ३१ घटना अभिलेखित छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयद्वारा प्रकाशित ‘नेपाल द्वन्द्व प्रतिवेदन २०१२’ ले सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार तथा मानवीय कानुन उल्लङ्घनका १० हजारभन्दा बढी घटना भएको उल्लेख गरेको छ । सङ्क्रमणकालीन न्यायका सवाल निरुपण गर्न गठित संरचनाले उजुरी दर्तामा मात्र आफ्नो भूमिका सीमित नगरी कानुनको संसोधनमार्फत् विस्तृत शान्ति सम्झौताको मर्म अनुसार कार्यसम्पादन प्रक्रियामा तदारुकता दिन इन्सेक जोडदार माग गर्दछ ।
    द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्च अदालतको पूर्ण इजलासको २०७७ वैशाख १४ गतेको आदेश र सर्वोच्च अदालतले २०७० पुस १८ गते जारी गरेको परमादेश र मानव अधिकारका विश्वव्यापी मान्यता अनुरूप द्वन्द्वपीडितका सवालमा विद्यमान कानुनहरूको तत्काल संशोधन गर्न इन्सेक जोडदार माग गर्दछ । साथै यससँग सम्बन्धित आवश्यक थप कानुनहरू यथाशीघ्र निर्माण गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगहरूको प्रभावकारिता सुनिश्चित गर्न पनि इन्सेक आग्रह गर्दछ ।
    सम्भावित घटना नदोहोरिने सुनिश्चितता र द्वन्द्वपीडितको न्याय, दिगो शान्ति, सामाजिक न्याय, मानव अधिकार र कानुनी शासनप्रतिको प्रतिवद्धता पुरा गरी द्वन्द्वपीडितहरूको न्यायका सरोकार शीघ्र सुनिश्चित गर्नुका साथै विस्तृत शान्ति सम्झौताको अभिन्न अङ्गका रुपमा रहेको सङ्क्रमणकालीन न्यायको मर्मलाई इमान्दारिताका साथ कार्यान्वयनमा ल्याउन राजनीतिक दलहरू र नेपाल सरकारसँग इन्सेक जोडदार माग गर्दछ ।

अनलाइन डेस्क