शान्तिपूर्ण ढङ्गमा मनोनयन दर्ता

  ०७६ कात्तिक २८ गते

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मोरङको थनपालथान गाँउपालिका–२ को वडाध्यक्ष पदका लागि कात्तिक २७ गते विभिन्न सात राजनीतिक दलले उम्मेदवारी दर्ता गराएकौ इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले जनाएकी छन् ।

वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टीबाट पङ्कज मण्डल, नेपाली कांग्रेसबाट नारायणप्रसाद शाह,राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योती पासवान,नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल, मङ्गोल अर्गनाइजेशनबाट मेघनाथ पासवान, सिके राउतको जनमत पार्टीबाट चनरादेवी मण्डल र राष्ट्रिय जनता पार्टीबाट चन्द्रानन्द मण्डलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तत्कालीन एमालेबाट विजयी वडाध्यक्ष बलराम मण्डल भगतको ०७५ वैशाखमा मृत्यु भएपछि सो पदका लागि शान्तिपूर्ण ढङ्गमा उम्मेदवारी दर्ता भएको सो कार्यालयले जनाएको छ । वडा नं २ मा ४ हजार ७४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

इन्सेक भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडाध्यक्ष पदको लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस र नेपाल मङ्गोल नेशनल अर्गनाइजेशनले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले बताए ।

वडाध्यक्ष पदको लागि नेकपाको तर्फबाट जितेन्द्र राई, नेपाली कांग्रेसको तर्पmबाट समरबहादुर कार्की र मङ्गोल नेशनल अर्गजनाइजेशनको तर्फबाट कला राईको उम्मेदवारी परेको छ ।

गाउँपालिका केन्द्र च्याङग्रेमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

वडा नं १ श्यामशिलामा हुन लागेको उपनिर्वाचनमा १ हजार ६ सय १६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसमा ८ सय ९२ महिला र ७ सय ७४ जना पुरूष रहेका छन् । तत्कालीन वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निमोनियाका कारण ०७६ साउन १८ गते मृत्यु भएको थियो ।

इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार रिक्त रहेका तीन पदमध्ये एक गाउँपालिकाको अध्यक्ष पदका लागि आठ जना र दुई वडाअध्यक्षका लागि १३ जना गरी जम्मा २१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ, नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे, सङ्घीय समाजवादी पार्टीका बिमला आङदेम्बे नेम्बाङ, राप्रपा नेपालका ससुहाङ चेम्जोङले उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृत नवराज दुलालले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का मोतिराज नेम्बाङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाहाङ चेम्जोङ र मङ्गोल नेशलन अर्गनाईजेशनका उदय मुखियाले उम्मेदवारी दर्ता गराएका छन् ।

फिदिम नगरपालिका–१ का अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गजाधर भट्टराई, नेपाली कांग्रेसका शुभराज थाम्सुहाङ, सङ्घीय समाजवादी पार्टीका गौरव लामा, राप्रपा नेपालका मिलन गिरिले उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचत अधिकृत मोहनराज भट्टराईले बताए ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का कल्पना राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का जानुका थाम्सुहाङ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विरबहादुर केरुङले समेत उम्मेदवार मनोनय गरेको मुख्य निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

हिलिहाङ गाउँपालिका–७ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गेहनाथ रिजाल, नेपाली कांग्रेसका तिलविक्रम इधिङगो, सङ्घीय समाजवादी पार्टीका भुवानीप्रसाद  लिम्बूले उम्मेदवार मनोनय गरेको मुख्य निर्वाचन अधिकृत पदमप्रसाद वस्तीले बताए ।

मुख्य निर्वाचन अधिकृत वस्तीका अनुसार राप्रपा नेपालका तुलप्रसाद पन्थाक, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का मुक्तिनाथ खनाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर थाम्सुहाङले समेत उम्मेदवारी मनोनयन गरेका छन् ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार पिपरा गाउँपालिका अध्यक्ष पदको लागि१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीको मृत्यु भएपछि गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा नेकपा, नेपाली कांग्रेस, राजपा र समाजवादी सहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अन्तर्गत कात्तिक २७ गते दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता भएको हो ।

खुला राजनीतिमा आएको ८ महिनापछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अञ्जु यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार कल्याणपुर नपा–१२ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि हुने उपनिर्वाचनको लागि १३ जनाले शान्तिपूर्णरूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनेहरूमा नेपाली कांग्रेसका राजकुमार मुखिया, नेकपाका दिलिपकुमार यादव, समाजवादी पार्टीका किशोरी साह, राजपाका प्रदिपकुमार महतो, जनमत पार्टीका मोहमद अताबुल रहमानलगायत १३ जना छन् ।

कल्याणपुर नपा–१२ स्थित प्रावि तिलासी बेल्हा मतदान केन्द्रमा ३ सय ९५ पुरुष र ३ सय ५४ महिला गरी ७ सय ४९ मतदाता र विष्णुचरण श्रेष्ठ आधारभूत विधालय बेल्हा मतदान केन्द्रमा १ हजार ३ सय ६२ पुरुष र १ हजार ३ सय ३९ महिला गरी २ हजार ७ सय १ जना मतदाता गरी जम्मा ३ हजार ४ सय ५० जना मतदाता रहेको अधिकृत साहले बताए ।

कल्याणपुर नपा– १२ का वडा अध्यक्ष रामदेव यादवको ०७५ वैशाख १८ गते मृत्यु भएकोले सो पद रिक्त रहेको थियो ।

इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार हरिपुर्वा नगरपालिका–१ को वडा अध्यक्षका लागि सात जनाको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार कात्तिक २७ गते सात जनाले मनोनय पत्र दर्ता गराएका हुन् ।

दुई जना स्वतन्त्र सहित सात जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

०७४ को स्थानीय तह निर्वाचनमा विजयी वडा अध्यक्ष इसाक अन्सारीको गत वर्ष मृत्यु भएपछि हरिपुर्वा नगरपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन हुन लागेको वडामा १ हजार ३ सय ५६ जना मतदाता छन् । मतदाताले हरिपुर्वा–१ स्थित वडा कार्यालयमै रहने दुई मतदान केन्द्रबाट वडा अध्यक्ष चयनका लागि मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपाबाट उम्मेदारी दिने दोस मोहम्मद अन्सारी निधन भएका वडा अध्यक्ष इसाक अन्सारीका छोरा हुन् ।

इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार सखुवा प्रसौनी गाउँपालिका–५ महुवनको वडा अध्यक्षको लागि भएको मनोनयन दर्ता निर्धारित समयभित्र शान्तिपूर्ण तरिकाले मनोनयन सम्पन्न भएको छ ।

सखुवा प्रसौनी गाउँपालिका–२ स्थित श्री दिपनरायण उच्च माध्यमिक विद्यालयको भवनमा स्थापना भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन पुगेका सबै दलले आ–आफ्नो शक्ति प्रदर्शन समेत गरे ।

नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राप्रपा र एक जना स्वतन्त्र गरी पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।


अनलाइन डेस्क