शान्तिपूर्ण आन्दोलनका क्रममा गिरफ्तार गरेको आरोप

  ०७३ मङ्सिर ७ गते

रारा, कालै र धैनकोट गाविसलाई समेटेर रारा गाँउपालिका बनाउनु पर्ने मागराख्दै आन्दोलनमा उत्रेका आठ जना प्रदर्शनकारीलाई प्रहरीले गमगढीबाट मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा रारा गाविस-१ का २७ वर्षीय धर्मराज शाही, सोही ठाउँका २८ वर्षीय जितेन्द्र बम, आन्दोलन परिचालन समितिका संयोजक रारा गाविस-१ निवासी ५८ वर्षीय दानबहादुर शाही, सोही ठाउँका ५० वर्षीय जयबहादुर शाही, कालै गाविस-८ का ५५ वर्षीय परुनाथ योगी, सोही ठाउँका ४१ वर्षीय राजेन्द्र शाही, धैनाकैट निवासी २७ वर्षीय डबल बम, धैनाकोट गाविस-२ का ४० वर्षीय देवीलाल मल्ल रहेका छन् । प्रहरीले शान्तिपूर्ण आन्दोलनका लागि तयारी गरिरहेकै बेला बिहान १० बजे गिरफ्तार गरेको आन्दोलन परिचालन समितिका संयोजक दानबहादुर शाहीले आरोप लगाए ।

रारा, कालै र धैनकोटका स्थानीयबासीद्वारा ०७३ कात्तिक २२ गतेदेखि विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । स्थानीयबासीले ०७३ मङ्सिर ५ गतेदेखि सदरमुकाम गमगढीका सरकारी र गैरसरकारी कार्यालय बन्द गरेको तेस्रो दिन प्रदर्शनकारीलाई बन्द गरेको आरोपमा गिरफ्तार गरेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

उनीहरूको गिरफ्तारीपछि मध्यान्ह १२ बजेबाट सरकारी तथा गैरसरकारी कार्यालय खुलेपछि कार्यालयका कामकाज सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयमा प्रहरी तैनाथ गरेको जनाएको छ ।


जीबन सेजुवाल