शान्तिपुर्ण धर्नामा प्रहरी हस्तक्षेप, महिला अधिकारकर्मी सहित आठ जना गिरफ्तार

  ०७६ माघ २९ गते

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउनु पर्ने र आन्दोलनका घाइतेहरूलाई उपचार गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको मुल गेट अगाडी धर्नामा बसेका महिला अधिकारकर्मी र आन्दोलनका घाइतेमाथि प्रहरीले माघ २८ गते हस्तक्षेप गरी आठ जनालाई गिरफ्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको मुल गेटमा अवरोध पुर्‍याएको भन्दै शान्तिपुर्ण रूपमा धर्नामा बसेका महिला अधिकारकर्मी शारदा चन्द, आनन्दी राना, आन्दोलनका घाइते सुरेन्द्र देउवा, महिला तथा वृद्धा सेवा केन्द्रका कोषाध्यक्ष हीरा भट्ट, यशोदा बोहरा, खडक विष्ट, देवु क्षेत्री र जयन्ती विष्टलाई प्रहरीले  गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रवीन्द्र पौडेलले प्रशासन कार्यालय जस्तो संवेदनशिल कार्यालयको मुल गेटमा धर्ना दिदा सेवाग्राहीलाई समस्या हुन गएकोले आन्दोलनकारीलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको  बताउनु भयो ।

निर्मला पन्तका हत्यारा पत्ता लगाउनु पर्ने र डेढ वर्ष अगाडी निर्मलाको न्यायका लागि भएको आन्दोलनका क्रममा घाइते भएकाहरूले उपचार तथा क्षतिपुर्ती पाउनु पर्ने मागराखि एक महिना अगाडीबाट अधिकारकर्मी र आन्दोलनका घाइतेहरूले शान्तिपुर्ण आन्दोलन शुरू गरेका छन् ।

 


कोमल निरन्जन भाट