शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न

  ०७३ भदौ ३० गते

संविधान कार्यान्वयनका लागि अबिलम्ब स्थानीय तहको निर्वाचन गरी २०६२/०६३ को जनआन्दोलनको मर्म अनुसार जनताको अधिकार संरक्षण गर्न माग गर्दै शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न भएको छ ।

शान्तिका लागि नागरिक सञ्जालको साधारणसभा तथा १३ औं अधिवेशनको उद्घाटन गर्दै सांसद  एवम् संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले लोकतान्त्रिक मुल्य मान्यतालाई समाजमा स्थापित गर्न नसके लोकतन्त्रले ल्याएका सबै संरचनाहरू सकिने बताए । उनले राजनीतिक पार्टीहरूले जनताका अधिकार संविधानमा लेख्न सके पनि संविधान कार्यान्वयनमा देखिएको सुस्तताले जनताका अधिकार सुरक्षित हुन नसक्ने चिन्ता व्यक्त गरे । संविधान र लोकतन्त्रको रक्षाका लागि अबिलम्ब स्थानीय तहको निर्वाचन घोषणा गरेर जनतालाइ अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ ।

अधिवेशनले आगामी एक वर्षका लागि जन आन्दोलन घाइते तथा शहिद परिवार समाजका अध्यक्ष ढाकाराम पौडेलको संयोजकत्वमा इन्सेक क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेल महासचिव  रहनेगरी एडभोकेसी फोरम, जिल्ला बाल गृह सञ्जाल, कोक्याप, हुर्जा, मानव अधिकारका लागि महिला एकल महिला, शुसासनका लागि नागरिक समाजलगायत सङ्घसंस्थाहरू सदस्य रहेको १५ सदस्यीय समितिको चयन गरेको छ । सञ्जालको सचिवालय इन्सेकमा रहेको छ ।


विष्णुप्रसाद अधिकारी